सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

9

काठमाडौँ, २ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले सञ्चार क्षेत्र सबै पुरानो कानुनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशील क्षेत्र भएर पनि राज्यको ध्यान नगएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सञ्चार क्षेत्र जटिल छ, यो क्षेत्र आफैँमा संवेदनशील छ । अहिलेसम्म यो क्षेत्रमा केही भएको छैन भन्ने हो भने यो अवस्थासम्म आइसकेका छौँ । सबैजनाले काम गर्नुभएकै छ । तर, सार रुपले भन्ने हो भने भएको केही पनि छैन । सबै पुरानो कानुनले चलिरहेका छन् । नयाँ नीति, कानुन केही छैन । मुलुकमा गणतन्त्र आइसक्यो, तर कानुनमा केही पनि परिवर्तन छैन । यो सबैभन्दा संवेदनशील क्षेत्र हो तर सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र पनि हो । अब यसको सुधार गर्नुपर्छ ।’

यस्तै, उहाँले यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने भन्दै हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने बताउनुभयो । उहाँले भने, ‘यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने, पहिला पनि थियो होला त्यसलाई सुधार गरेर नयाँ ल्याउने । नीति भएपछि मात्र त्यसको आधारमा कानुन बन्छ । यो वर्षभित्र सबै नीतिका काम सकिन्छ । हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने काम गर्छौँ।’

साथै, उहाँले नीतिगत, कानुन, बजेट, जनशक्तिलगायतको समस्या कहाँ छ भनेर सबै पहिल्याएर समाधान गर्नुपर्ने भन्दै यो वर्षभित्र सबै कुराको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...