ओलीको गृहजिल्ला पुगेर प्रचण्डले भने- ‘अगामी निर्वाचन झापाबाटै लड्छु’

129

झापा, ३० भदौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८४ सालमा झापाको कुनै क्षेत्रबाट निर्वाचन लड्न सक्ने संकेत गर्नुभएको छ ।

आइतबार झापाको बिर्तामोडमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अधक्ष्य प्रचण्डले झापामा माओवादीप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा झापाबाट नै टक्कर दिने मनस्थिति सिर्जना भएको बताउनुभयो ।

‘जित सत्य र न्यायको हुन्छ कि, बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु,’ प्रचण्डले भन्नुभयो, तेस्रो कार्यकालमा जनताको पक्षमा सके जति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन्, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन् भन्ने अपेक्षा पार्टीको छ ।’

‘जनतामाझ हाम्रो क्रेज बढ्न थालेपछि एकथरी प्रतिक्रियावादीहरु हामीलाई फुटाउने प्रयास गरिरहेका छन् । यो कुरा नयाँ होइन, जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रियालगायतका समयमा पनि पार्टी फुटाउने प्रयास भएका हुन, हामीले ती सबै प्रयासहरुलाई निरर्थक बनायौँ,’ प्रचण्डले भन्नुभयो,‘केहीदिनअघि सम्पन्न स्थायी कमिटीको बैठकले फुटवादी मानसिकतालाई सधैँका लागि अन्त्य गरेको छ, हामी अहिले एकढिक्का मात्र होइन, बाटो बिराएर अन्यत्र गएका साथीहरु पनि चाँडै एकीकृत हुँदै छौँ ।’

आगामी निर्वाचनबाट नेकपा (माओवादी पार्टी) मुलुककै ठुलो दलका रुपमा उदाउने उहाँले बताउनुभयो । मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्व आउनुभएका प्रचण्डले ६४ सालमा माओवादीलाई मत दिएका मतदाताको जिल्ला तहका नेतालाई मनोविज्ञान बुझ्न निर्देशन दिनुभयो । उहाँले ६४ मा मत दिने जनतासँग माफी माग्न, विदेश गएका नागरिकको सूची तयार गर्न र ६४ को निर्वाचनका समयमा नाबालक रहेका जनताको मनोविज्ञान अध्ययन गरेर उनीहरुको अपेक्षाअनुसार अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

जनयुद्ध गरिरहेका माओवादीलाई नेपाली राजनीतिको मूलधारमा कांग्रेस र एमालेले ल्याएको भनेर गलत प्रचार गरिरहेको उहाँले बताउनुभयो । ‘उहाँहरुको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा हामी सहमत भएको भए उहाँहरुले ल्याएको भन्न सकिन्थ्यो,’ प्रचण्डले भन्नुभयो,‘उहाँहरु नै हामीले अघि सारेको मुद्दा गणतन्त्र, धर्म निरपेक्ष राष्ट्र, समानुपातिक निर्वाचन प्रणालीमा समाहित भएर आउनुभएको छ । उहाँहरुको अस्तित्व चै माओवादीले जोगाइदिएको हो ।’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास गरेर गम्भीर गल्ती गरेको उहाँले बताउनुभयो । ‘दुई तिहाईको सरकारको नेतृत्व गरेको समयमा संविधान च्यात्न खोज्ने ओलीलाई अब सुध्रिए कि, भनेर मैले दोस्रो पटक विश्वास गर्दै उहनको समर्थनमा प्रधानमन्त्री बने, तर ओली सुध्रिनु त कता हो कता, उनीजस्तो अनैतिक, बेइमान र भ्रष्टहरुको संरक्षक अरु कोही रहेनछ ।’ प्रचण्डले केपी ओलीलाई सुधार्नु भनेको गधालाई धोएर गाई बनाउनु जस्तै भएको प्रतिक्रिया दिनुभयो ।

दुनियाँमा कतै नभएको पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने काम नेपालमा भएको उहाँले बताउनुभयो । भारत र अमेरिकालगायतका देशको उदाहरण दिँदै प्रचण्डले अप्राकृतिक गठबन्धनबाट बनेको सरकार धेरै समय नजाने टिप्पणी गर्नुभयो । उहाँले ८४ सालसम्म माओवादी सरकारमा नजाने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका पुराना नेता तथा तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धु कन्दङवा, एमालेका जिल्ला नेता सीता रणपहेली, मोहन योगी, जगत राईलगायत २ सय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...