गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नुपर्‍यो : प्रचण्ड

64

झापा, ३० भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धुकै मुद्दा उठाउदा सत्ताबाट हट्नु परेको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले त्यस्तो बताउनुभएको हो ।

सर्वोच्च अदालतले गिरीबन्धुको स्वामित्वमा रहेको ३४३ बिगाहा जमिनको सट्टापट्टा दिने निर्णय उल्टाएको छ ।

सो मुद्दाको पूर्णपाठमा २०६१ सालमा सट्टापट्टा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रुपमा गणना गर्नु भन्ने उल्लेख छ ।

अदालतको सो आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको सो जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ ।

जमिनको कारोबारमा रोक लगाएपछि त्यहाँ रहेका ५ सयभन्दा बढी घरधुरी अन्यौलमा परेका छन् । उनीहरूले मन्त्रीस्तरबाट निर्णय भएर लामो समयदेखि कारोबार भइरहेको सो जमिनको विषयमा उत्पन्न अन्यौलता अन्त्य गर्न माग गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रचण्डले बिर्तामोड बसपार्कको जमिनमा उत्पन्न समस्याको बारेमा जानकार रहेको बताउनुभयो । उहाँले यिनै मुद्दा उठाउदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानका लागि सकारात्मक रहेको धारणा राख्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...