जनतालाई समान अवसर प्रदान गरेमात्र बिपीको सपना साकार हुन्छ : डा.संग्रौला [भिडिओ]

46

काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पेशागत तथा वुद्धिजिवी विभागकी प्रमुख डा.डिला संग्रौलाले सबै जनतालाई समान अवसर प्रदान गरेमात्र बिपी कोइरालाको सपना साकार हुने बताउनुभएको छ ।

मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बिपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उहाँले बिपीको सपना भनेको नेपाललाई समृद्ध बनाउने मात्र होइन हरेक वर्ग, समुदाय र सबै तहका नागरिकलाई सहजै रुपमा शिक्षा, औषधि, रोजगारी प्रदान गर्ने रहेको औँल्याउनुभयो ।

‘बिपीले एउटा सपना देख्नुभएको थियो । त्यो सपना नेपाललाई समृद्ध बनाउने मात्र होइन हरेक वर्ग, समुदाय र सबै तहलाई शिक्षा, औषधि, रोजगारी प्रदान गर्ने थियो । यही नै आजको प्रजातन्त्रको बाटो हो । तर, पनि आज लाखौ युवाहरु बेरोजगार छन्, विदेशिनुपरेको छ । उनीहरुलाई नेपालमा भित्राएर रोजगारी दिने अवसर सिर्जना गर्नु नै आजको समाजवादको पाटो हो,’ उहाँले भन्नुभयो ।

महिला, आदिवासी जनजाति, अल्पसंख्यक वा सिमान्तकृत समुदायलाई समान अधिकार प्रदान गर्न सकेमात्र समाजवादको पालना हुने उहाँको धारणा थियो ।

उहाँले अगाडि भन्नुभयो, ‘हिजोआज महिलाहरुले अझै पनि समाजवादमा मेरो सम्मान हुनुपर्छ भनेर प्रश्न गर्नुपर्ने अवस्था छ । यस्तो हुनु हुँदैन । बिपीको सपना साकार पार्न हरेक जनताले समान अधिकार पाउनैपर्छ । यसका लागि हामी सबै लडनुपर्ने वा जुट्नुपर्ने अवस्था छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री गगन थापालगायतले आजको सन्दर्भमा बिपी कोइरालाको विचारको समीक्षा गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...