सिरहा, २५ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) मिचैया नगर समिति सिरहाले आज बिहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताउनुभयो ।
२०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिँदै उहाँले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताउनुभयो ।
संविधान जारी भएपछि मधेसका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गर्नुभयो । उहाँले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताको बलिदानको जगमा निर्मित संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्ने अत्यधिक प्रयत्न गरेको छ । संघीयतासहित समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तले सयौँ वर्षदेखि उत्पीडनमा परेका जनतालाई अधिकार सम्पन्न बनाएको छ, अब यसको पूर्ण कार्यान्वयनमार्फत् जनताको अवस्था बदल्ने बेला आएको छ, यसमा जनताको साथ सहयोग अपरिहार्य छ ।’
पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उहाँको भनाइ छ ।
‘हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्राथमिकताका साथ अघि बढाइरहेका छौँ । मैले सरकारको नेतृत्व गरेको बेलामा यी एजेण्डामा पनि अझ बढी मधेसका समस्या समाधानमा ध्यान दिने प्रयास गरेँ । वर्षौँ पुरानो मिटरब्याजको समस्या कानुन बनाएर नै समाधान गरिएको छ । हजारौं नागरिकताविहीनहरुले नागरिक पाउने अवस्था बनेको छ । यसलाई तपाईंहरुले महत्वपूर्ण उपलब्धिको रुपमा लिनुभएको छ भन्ने मैले बुझेको छु,’ उहाँले भन्नुभयो ।