काठमाडौँ, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा पठनपाठन कम र राजनीतिक गतिविधि बढी भइरहेको बताउनुभएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले एमाले र कांग्रेस पार्टीका सत्ता गठबन्धनका विद्यार्थी संगठनका कारण विद्यार्थीले पढ्न र परीक्षा दिन नपाएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘११ दिनभयो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा जाँच नभएको र चल्दै गरेको जाँचले गर्दाखेरी १४ सय जना विद्यार्थीहरु अड्किएका छन् । विश्व विद्यालयमा पठनपाठन ठप्प छ । अब चार वर्षमा सकिने ब्याचलर कति वर्ष लाग्ने हो ? पठन पाठन कम र पार्टीहरुको गतिविधि बढ? हुन थाल्यो । गठबन्धनका विद्यार्थी संगठनको लडाइँका कारण पढ्छु मात्र भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने ?’
सांसद श्रेष्ठले एमाले र कांग्रेस निकट विद्यार्थी संगठनले पढ्ने र परीक्षा दिने अधिकारबाट बन्चित गराएको बताउनुभयो । उहाँले ओली शासनमा पढ्न, परीक्षा दिन र दीक्षित हुन नपाउने हो भन्दै प्रश्न समेत गर्नुभयो ।