काठमाडौँ, १८ भदौ । परराष्ट्रमन्त्री आरजु राणाले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाइ राजदूत सिफारिस गरिएको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिकोे बैठकमा राजदूत सिफारिसका विषयमा जबाफ दिँदै उहाँले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित र कार्यसम्पादनमा आधारित बनाउन सरकार अधिकतम रूपमा प्रयासरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा २८२ अनुरूप राजदूत नियुक्ति गर्ने तथा सोका लागि राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ दफा ८ को (ग) बमोजिम राजदूतहरूको सिफारिस गर्ने व्यवस्था प्रचलनमा रहेको छ संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाउन यो सरकार अधिकतम रूपमा प्रयासरत छ र रहनेछ ।’
उहाँले राजदूत नियुक्त गर्दा कम्तिमा ५० प्रतिशत परराष्ट्र सेवाबाट गर्ने नीतिलाई निरन्तरता दिइएको पनि स्पष्ट पार्नुभयो ।
सेवाबाहिरबाट नियुक्तिका लागि सिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिस गरिएको उहाँले जानकारी गउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजदूतहरूको नियुक्तिमा राजनीति र व्यवसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट नियुक्त गर्ने नीतिलाई यसपटक निरन्तरता दिइएको छ । सेवाबाहिरबाट नियुक्तिका लागि सिफारिस गर्दा विभिन्न क्षेत्रको दक्षता र अनुभवलाई राष्ट्रहितको निम्ति अधिकतम उपयोग गर्ने गरी सिफारिस गरिएको कुरा प्रष्ट पार्न चाहन्छु ।’
त्यस्तै, उहाँले आफ्नो भारत भ्रमण गुडविल भिजिट भएको प्रष्ट पार्नुभयो । भ्रमणको मुख्य उद्देश्य दुईपक्षीय संयन्त्रलाई कसरी क्रियाशील बनाउने भन्नेमा केन्द्रित रहेको बताउनुभयो ।
भ्रमणको क्रममा एयर रुटको बारेमा कुरा राखेको र सो क्रममा टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको पनि जानकारी गराउनुभयो ।