काठमाडौँ, १३ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशिएका युवाहरुलाई फर्काउने बेला भएको बताउनुभएको छ । नेपाल शैक्षिक परामर्श संघको २८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालमै रोजगारी विस्तार गर्नुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अरु देशले नेपालमा सम्भावना देख्ने अनि हामीले अन्यत्र सम्भावना देख्ने अवस्था कहिलेसम्म रहन्छ ? अब हाम्रा दक्ष जनशक्तिलाई नेपालमै श्रम र रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ । सरकार प्रतिवद्ध भएर लागेको छ । मन्त्रालयले स्टार्टअप नेसन २०३० लगायतका युवा लक्षित केही कार्यक्रम ल्याएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने भूमिका शैक्षिक जगतका व्यक्तिहरुको पनि हो ।’
मन्त्री भण्डारीले नेपाल शैक्षिक केन्द्रको हब बन्न सक्ने भन्दै उत्पादन र उत्पादकत्वलाई विश्व बजारमा निर्यात गर्नुपर्ने बताउनुभयो । नेपालका व्यवसायीले उत्पादन गरेका वस्तु खपतका लागि छिमेकी मुलुक भारत र चीनसँग सहकार्य गर्ने बताउनुभयो ।
नयाँ सोच र चिन्तनहरुमा राज्यको सहयोग र समर्थन रहने मन्त्री भण्डारीको भनाइ छ । सरकारले युवाहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको बताउनुभयो ।
मन्त्री भण्डारीले लगानी सम्मेलनका क्रममा पुँजी र प्रविधि भित्र्याउने तयारी गरेको बताउनुभयो । उहाँले ज्ञान सीप प्राप्त गरेका जनशक्तिहरुलाई नेपाल फर्काउने अभियानमा शैक्षिक परामर्श संघको भूमिका रहेको बताउनुभयो ।