काठमाडौँ, १३ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उहाँले सिटिइभिटीसम्बन्धी नीतिलाई नै पुनःनिर्माण गर्न नसके पनि अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनाउनु पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ सिटिइभिटीलाई पुनःसंरचना कसरी गर्ने भन्ने कुरा समितिमा नै छ, त्यसमा नीतिलाई नै पुनःनिर्माण गर्न नसकेपनि कम्तिमा सिटिइभिटीलाई अहिलेको अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनायौँ भने राम्रो हुन्छ । विचाराधिन रहेको ऐनमा पनि सुझावदिन सकिन्छ । सिटिइभिटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नुपर्छ भन्ने लाग्छ । यसका लागि दुईवटा टिम बनाएर काम अगाडि बढाएका छौँ ।’
यस्तै, उहाँले वर्तमान अवस्थासम्म आइपुग्दा पनि नीति खास संशोधन नभएको भन्दै अझै पनि पुरानै नीतिबाट सबै कामहरु भइरहेको बताउनुभयो।
युवाहरुलाई देशमा राख्नका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै शिक्षालाई सबल बनाउने हो भने प्रतिस्पर्धी विद्यार्थी र जनशक्ति तयार गर्न सक्नुपर्ने पनि उहाँको भनाइ छ ।