डिभोर्स भएका र उमेर ढल्केका धेरैको जोडी मिलाइदिएका छौँ : तुलसी भारद्वाज निरौला [भिडिओ]

45

सामान्यत लमी भनेको विवाहका लागि केटाकेटी र परिवारबीच सूचना आदानप्रदान गर्ने मध्यस्तकर्ता हो । गाउँघरमा अझै पनि विवाहका लागि वर वा वधु खोज्दा लमीको सहयोग लिने प्रचलन छ । लमी राखेर विवाह गर्ने चलनलाई कायम राख्न हामीले निजी क्षेत्रबाट सहयोग गरिरहेका छौँ। संस्था नै स्थापना गरेर लमीको भूमिका निर्वाह गरिरहेका छौँ । करिब पाँच वर्षसम्म अनौपचारिक रुपमा आफन्तहरुका निम्ती लमीको काम गरेका थियौँ । विस्तारै संस्थागत रुपमै काम गर्ने भनेर कम्पनी रजिष्ट्रार कार्यालयमा संस्था दर्ता गरेर काम गरिरहेका छौँ ।

२०७७ सालको मंसिर १७ गते ‘लमी नेपाल प्रालि.’ दर्ता गरेर काम गरिरहेका छौँ । खासमा आफ्नै परिवारमा घटेको एउटा सामान्य घटनाबाट संस्था खोल्ने सोच आएको हो । मैले विवाह गरेको १३–१४ वर्ष भयो । मेरो दिदीको विवाह भएको १५ वर्ष भयो । सोहीबेला चुनौती मोल्नुपरेको थियो । जसअपजसको कुरा आयो । परिवारभित्रै यस्तो कुरा आउँछ भने विवाह चाहिँ कसले गराइदिने भन्ने प्रश्न उब्जियो । त्यही क्रममा हामीले यो एउटा बिजनेस हुन्छ भनेर यस्तो कामको अवधारणा ल्याएका हौँ । दुवै पक्षको सूचना एक अर्कामा लगिदिने काम गर्ने गर्छौँ । जिम्मेवारी लिँदैनौँ तर मध्यस्तकर्ता रुपमा चाहिँ काम गर्छौँ । सुरुवाती चरणमा एकदमै सकरात्मक पाएका थियौँ ।

पहिले हामी सम्बन्धित व्यक्तिको सूचना लिन्छौँ । रोजगारी, व्यवसाय के हो सबै बुझ्छौँ । जानकारी लिन घरसम्म पनि पुग्छौँ । पहिले आफैँ विश्वस्त हुन्छौँ । विश्वस्त भइसकेपछि उहाँहरुलाई विश्वस्त बनाउँछौँ । पहिलेका लमीहरुले व्यक्तिगत रुपमा यो घर को केटा यस्तो छ, त्यो घरको केटा उस्तो छ भन्दै गर्नुहुन्थ्यो । तर, हामी सिस्टममा गर्छौँ । सबै कुरा हेर्नको लागि कर्मचारी राखेका छौँ । फोटोहरु गुगल ड्राइभमा राख्छौँ, फेसबुकमा पनि फोटो राख्छौँ । ग्रुमा पनि सल्लाह हुन्छ । अनि बल्ल देखाउन थाल्छौँ । विवाह भनेको दुईवटा परिवारको कुरा हो । त्यसैले दुई परिवारको संलग्न गराउछौँ । शाकाहारी र मांशाहारी दुवैका लागि मिल्दो जोडी खोज्छौँ । काठमाडौँमा घर चाहिएकोलाई त्यहीअनुसारका व्यक्ति पहिचान गर्छौँ ।

सूचना आदानप्रदान गर्दा पनि गोपनियताको ख्याल राखेका हुन्छौँ । सुनाउनुभन्दा पहिले व्यक्तिको नाम, फोन नम्बर राख्छौँ तर ठ्याक्क ठेगाना दिँदैनौँ । यो ठाउँमा घर छ भन्यो, सक्यो । यत्तिको मान्छे ठिक छ कुरा अगाडि बढाउँ भन्ने भएपछि मात्र फोटो पठाउँछौँ । सबै कुरा बताइदिन्छौँ । पहिले त मागी विवाहमा जात समुदाय चाहिन्छ, जात मिलेन भने हुँदैन । उहाँहरुले यो चाहिँ जातकोसँग चाहिँ गर्छु भन्नुभयो भने प्रक्रिया अघि बढाउने हो । कम्पनी भएकाले ग्राहकले जे सुविधा माग्छन् त्यही दिने हो । हाम्रो प्रचलन के छ भने केटीले पाएक पर्ने ठाउँमा बोलाउँछ र त्यहाँ केटा जानुपर्छ । व्यक्तिगत गोपनियतालाई बढी ध्यानमा राखेर काम गर्ने गर्छौँ ।

विदेशमा केटाकेटी भए जुम मिटिङ गराउने गराउँछौँ । मिटिङ चाहिँ मन परिसकेपछि लगभग बिहे हुन्छ है भन्ने भएपछि गराउने हो । त्यसपछि शुल्कको कुरा आउँछ । पहिले ५० प्रतिशत लिन्छौँ । अनि नाम ठेगाना नम्बर सबै दिन्छौँ । त्यसपछि आफैँ पनि जान सक्नुहुन्छ भनेर सम्झाउँछौँ । यहाँ आउने व्यक्तिको डकुमेन्ट भनेको व्यक्तिको सम्पूर्ण विवरण लिन्छौँ । नाम, थर, गोत्रको विवरण लिन्छौँ । मावलीको थरसँग विवाह गर्न नहुनेले सोही अनुसारको जानकारी लिन्छौँ । अरु डाटासँग म्याचिङ गर्छौँ ।

हामीसँग प्रायः डिभोर्स भएका, पहिलो विवाह बिग्रेका व्यक्तिहरु आउनुहुन्छ । पछिल्लो समयमा अलिकति पाको उमेरका व्यक्तिहरु पनि आउन थाल्नुभएको छ । नयाँ व्यक्ति वा भर्खर विवाह गर्न उमेर पुगेकाहरु पनि आउनुहुन्छ । तर, संख्यात्मक रुपमा ७० प्रतिशत डिभोर्स भएको र अलि बढी उमेरको हुनहुन्छ । दिमागको औषधिहरु खानेहरु अर्थात् मनसिक सन्तुलन राम्रो नभएकाहरु पनि आउनुहुन्छ । आजभोलि चाहिँ धेरैजसो प्रेम विवाह नै बढी हुन थालेको छ । प्रेम असफल हुनेहरु पनि आउनुहुन्छ । सम्बन्ध थियो भर्खरै बिग्रयो, जोडी खोजिदिनुपर्‍यो, बिहे अहिले नै गर्दिन दुई वर्षसम्म हेर्छु, विचार गर्छु भन्ने खालको मानिसहरु पनि आउनुहुन्छ । नेपालको कानुनले दिएको मात्र काम गर्छौँ । त्योभन्दा बाहेक गर्दै गर्दैनौँ । कुनै हालतमा गर्दैनौँ, बरु काम नगरी बस्छौँ । कहिलेकाहीँ १८ वर्षको भए केटी खोजिदिनुहोस् भन्नेहरु पनि आउनुहुन्छ । त्यस्तालाई हामी अब दुई वर्ष चुप लागेर बस्नुहोस भन्छौँ । हामीसँग आएर बिहे गर्नेले सयौँबाट छान्ने हो । त्यसैले पनि परम्परागत लमीभन्दा धेरैको रोजाइमा पर्न सकेका हौँ ।

बिहे गराइदिने नाममा मानव बेचबिखन हुने गरेको सुन्छौँ । यस विषयमा संवेदनशील छौँ । विहे गरेर विदेश लैजान्छु भन्दै आउनेहरुप्रति अलिक शंका लाग्ने गर्छ । त्यसको मज्जाले अध्ययन गरेर गैरकानुनी हो कि जस्तो लाग्यो भने च्याप्टर बन्द गर्छौँ । आधिकारिक डकुमेन्टहरु राम्रोसँग चेकजाँच गरेर मात्र प्रक्रिया अगाडि बढाउँछौँ । त्यसैले पनि त्यस्तो समस्या आउँदैन । संस्था दर्ता गरिसकेपछि हामीले लगभग २१ जोडीको विवाह गराइसकेका छौँ । त्यसमध्ये १३–१४ जोडी डिभोर्सवाला हुनुहुन्छ भने अरु नयाँ जोडीको बिहे गराइदिएका छौँ । आजसम्म कुनै ठाउँबाट गुनासो आएको छैन । संस्थामार्फत् समाजमा केही न केही योगदान दिने काम गरेका छौँ भन्ने लाग्छ । अपाङ्ग, मानसिक रोगीहरुले पनि विवाह गर्न सफल हुनुभएको छ । त्यसैले पनि राम्रै काम गरेका छौँ भन्ने लाग्छ ।
(नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

Share This:
सम्बन्धित खबर
Loading...