काठमाडौँ, २९ असार । यादव खरेललाई चिनाउने अनेकौँ विधा भएपनि पछिल्लो समय उहाँको चिनारी चलचित्र निर्देशकका रुपमा पनि दरिएको छ । यसबाहेक कवि, गीतकार, प्राध्यापक, समाजसेवी र फुटबलर भनेर समेत जीवनको विभिन्न कालखण्डमा खरेलले आफूलाई चिनाएका विधा हुन् ।
राणाकालको ऐतिहासिक चलचित्र ‘प्रेमपिण्ड’, ‘श्री स्वस्थानी’ र ‘आदिकवि भानुभक्त’ बनाउनुभएको छ खरेलले । खरेलको लेखन तथा निर्देशनमा ‘आदिकवि भानुभक्त’ नेपाली भाषामा बनेको पहिलो बायोपिक फिल्म हो । यो ०५६ तिर नै निर्माण भएको खरेलको भनाइ छ । बायोपिक भनेको कुनै मानिसको जिवनीमाथि बनेको कथानक चलचित्र भन्ने बुझिन्छ ।
‘आदिकवि भानुभक्त’ आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित छ । जसमा नायक दिलिप रायमाझीले भानुभक्त आचार्यको भूमिका निर्वाह गर्नुभएको छ । फिल्ममा भानुभक्तले विद्या आर्जन गरेदेखि मरणसम्मको घटनालाई देखाइएको निर्देशक खरेलले सुनाउनुभयो । भानुभक्त निर्माणमा लागि करिब दुई वर्षसम्म अध्ययन गरेका खरेल पुरानो फिल्म भएकाले यसको अस्तित्व जोगाउन समस्या भइरहेको बताउनुहुनछ ।
‘आदिकवि भानुभक्तले नेपाललाई भाषा र साहित्यमार्फत नेपाल एकीकरण गरेको र घाँसीबाट प्रेरणा लिएर राष्ट्रप्रेमको भावना जागृत गरि समाजलाई मद्धत हुने हिसाबले साहित्यको सिर्जना गरी नेपाली भाषामा ‘रामायण’ र अन्य कृतिहरू पनि रचना गरे भन्ने कुरा यसमा चलचित्रमा समावेश गरेका थियौँ । यसका लागि म आफैँले भानुभक्तलाई चिनेका धेरै मानिसहरुको अन्तर्वार्ता लिएको छु । धेरै अध्ययन गर्नुपरेको थियो,’ साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा नेपाल न्युज बैंकसँगको कुराकानीमा उहाँले भन्नुभयो ।
खरेलले आदिकवि भानुभक्तको अर्काइभ अहिले पनि सुरक्षित राखेको बताउनुहुन्छ । ‘अहिले पनि विभिन्न अर्काइभहरु सुरक्षित राखेका छौँ । युसिएलएलले राखेको छ । भल्ब बनाएर जमिनमुनि भूकम्प गए पनि केही नहोस् भनेर त्यहाँ सूरक्षित राखिएको छ,’उहाँले भन्नुभयो ।
वाल्मिकीले लेखेको रामायणलाई नेपाली भाषामा उतारेर भानुभक्तले नेपाली भाषालाई चिनाउन ठुलो सहयोग गरेको उल्लेख गर्दै यही कारण पनि फिल्म नेपाली माझ सधैँ अमर रहने खरेल बताउनुहुनछ । तर, आदिकविको बायोपिक फिल्म ‘आदिकवि भानुभक्त’ निर्माण गर्न त्यति सहज नभएको खरेलको अनुभव छ ।
उहाँ भन्नुहुन्छ,‘भाषा, कला, साहित्यमा भानुभक्तले गरेको योगदान अतुलनीय छ । यो सबै कुराको अध्ययन गर्नु ठुलो चुनौती चलचित्र निर्माणका क्रममा भयो । केही नछुटोस् भनेर धेरै मेहेनतका साथ काममा लाग्नु परेको थियो । आदिकवि भानुभक्त बनाउँदाको समय ध्वनी र दृश्य एकैचोटि लिन सजिलो थिएन । त्यो बेला भानुभक्त फिल्म बनाउँदा छुटै दृश्य र छुट्टै ध्वनी चाहिन्थ्यो । तथ्य लिएर यथार्थ चित्रण गर्न निकै मेहनत गर्नु पर्यो । भानुको जन्मथलो उनकै घरको महिनौँ बसेर अध्ययन, छायांकनलगायतका काम गर्नुपरेको थियो । नेपालमा मात्र होइन, दार्जिलिङ, सिक्किम र बर्मामा समेत छायांकन गर्ने योजना थियो । त्यस्तै बर्मामा पनि नेपाली भाषीका धेरै कथा–व्यथा थिए । त्यहाँ पनि भानुभक्त लोकप्रिय छन् । चलचित्र निर्माण गर्दाको बखतको अनुभवहरु रमाइला र चलचित्र उतिक्कै असहज थियो ।’
फिल्म बनाउने बेला न दार्जिलिङबाट यथोचित सहयोग मिल्यो न बर्माबाट । फिल्म बनाउने क्रममा अध्ययनका लागि यादव खरेल बर्मा पुग्नुभएको थियो । तर, त्यहाँको सरकारले छायांकन अनुमति नदिएकाले चलचित्रमा बर्मालाई समेट्ने रहर पनि अपूरै रह्यो । सानो सीमाभित्र मात्र बसेर भानुभक्त निर्माण गरिएको उहाँको अनुभव छ ।
‘आदिकवि भानुभक्त’ इतिहासको दस्तावेज रहेकाले पैसा आर्जन गर्ने उद्देश्य नभएको खरेलले सुनाउनुभयो । भानुको साहित्यिक इतिहास लिपिबद्ध गर्ने प्रयासमा सफलता मिलेको उहाँको अनुभव छ । फिल्म भानु जन्मस्थल विकास समितिको सम्पत्ति भएपनि त्यसलाई सुरक्षा नगरिएकोप्रति खरेल चिन्तित हुनुहुन्छ ।
चलचित्रमा कमलमणि दिक्षित, बिक्की साह, दिलिप रायमाझी, सुवर्ण श्रेष्ठ र अनिता सिलवाललगायतका कलाकारले अभिनय गरेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष समेत भइसकेका खरेलको बेलामा बनेको राष्ट्रिय चलचित्र नीति अहिलेसम्म पनि कार्यान्वयनमै छ ।
मूल नेतृत्वमा पुग्ने राजनीतिक दलका नेताहरुमा चलचित्रसम्बन्धी चेतनाको अभावकारण चलचित्र क्षेत्र अगाडि बढ्न नसकेको खरेको भनाइ छ ।
‘म चलचित्र विकास बोर्डको अध्यक्ष भएकै बेला राष्ट्रिय चलचित्र ऐन, २०२६ लागु गरिएको हो । तर, त्यो नीति खासै प्रभावकारी रुपमा कार्यान्वयनमा आएन । दुर्भाग्य के भयो भने मुलुक चलाउन भनेर मन्त्री भएर आउनेहरुमा चलचित्रसम्बन्धी चेतना भइदिएन । चलचित्र विकास बोर्ड आफ्ना मान्छेका लागि भर्ति केन्द्र जस्तो बनाइदिए । यसकारण बोर्डले सोचेको जस्तो काम गर्न सकेन । आज ५५ वर्षवितिसक्दा समेत नीति संशोधन गरेर ल्याउन सकिएको छैन,’ उहाँले भन्नुभयो ।