काठमाडौँ, ११ असार । भक्तपुरको दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोप प्रहरीले जनालाई पक्राउ गरेको छ ।
मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै सिबिआईको प्रहरी हुँ भन्दै लुटपाट गर्ने सन्धुपाल्चोक बाह्रबिसे–२ घर भइ हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भइ हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका ३८ वर्षीय कृष्णबहादुर बोहोरालाई पक्राउ गरी सार्वजनिक गरेको हो । यीमध्ये कृष्णबहादुर बोहरा बहालवाला हवल्दार हुन् । उनी महाराजगञ्ज गणमा कार्यरत रहेको बुझिएको छ ।
उनीहरुले यही असार ४ गते दिउँसो १ बजे सूर्यविनायक नगरपालिका–४ दधिकोटका डिल्लीबहादुर राउतको घरमा आफूहरू सिबिआईबाट आएको घरभित्र पसी लुटपात गरेको प्रहरीले जनाएको छ ।
उनीहरूले परिचयपत्र र खुकुरीसमेत देखाएर राउतको घरबाट अन्दाजी २ करोड लुटेर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
लुटेको रकम भीम बहादुर बस्दै आएको गोकर्णेश्वर माकलबारीस्थित कोठामा लगेर ५ जनाले बाँडेको समेत उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताउनुभयो । उनीहरुको साथबाट प्रहरीले ३६ लाख ३६ हजार रुपैयाँ बरामद भएको छ ।
त्यस्तै, घटनामा प्रयोग भएको बा.प्र.०२–०४० प ५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नम्बरको २२० सिसिको पल्सर दुई थान मोटरसाइकल, १० थान मोबाइल, लुटिएको रकम बोक्न प्रयोग गरेको झोला दुई थान, चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरू, चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर र खुकुरी पनि बरामद गरेको जनाएको छ ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।