काठमाडौँ, ८ असार । अर्थमन्त्री वर्षमान पुनले सामाजिक न्यायसहितको प्रगतीशिल समाजवादतिर जाने अर्थतन्त्र निर्माणको प्रक्रियामा रहेको बताउनुभएको छ ।
शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा उहाँले धनी र गरिबबीचको खाडल कम गर्दै समाजवादको आधार तयार गर्ने अर्थतन्त्र निर्माण गर्ने भन्दै यसपालीको बजेटले अलिकति त्यतातिर दिशानिर्देश गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उत्पादन, रोजगारी बढाउने, उत्पादन र रोजगारीबाट समृद्धि हासिल गर्ने, समृद्धि न्यायोचित रुपले वितरण गर्ने, धनी र गरिबबीचको खाडल कम गर्दै समाजवादको आधार तयार गर्ने, सामाजिक न्यायसहितको एउटा प्रगतीशिल समाजवादतिर जाने खालको अर्थतन्त्र निर्माण गर्नुपर्छ ।’
उहाँले राष्ट्रिय अर्थतन्त्र, पुँजी र औद्योगीकरणको बाटोबाट अगाडि जानुपर्छ त्यसमा बजेटले अलिकति त्यतातिर दिशानिर्देश गर्ने बताउनुभयो ।
उहाँले रैथाने सीप, कला, उत्पादनहरुलाई प्रवर्द्धन गर्ने र ब्रान्डिङ गर्ने भन्दै यसबाट परम्परागत उत्पादनलाई आधुनिक उत्पादनसँग जोडेर उत्पादन वृद्धि र राष्ट्रिय अर्थतन्त्र निर्माण हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘रैथाने सीप, कला, उत्पादनहरुलाई प्रवर्द्धन गर्ने र ब्रान्डिङ गर्ने कुरा पनि छ । यसबाट स्थानीय बासिन्दाहरुको सीप र परम्परागत उत्पादनलाई आधुनिक उत्पादनसँग जोडेर उत्पादन वृद्धि र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने बाटो हो । यही अनुसार बजेट पनि प्रस्तुत भएको छ ।’
मन्त्री पुनले संघीयतालाई परिमार्जन र समावेशितालाई अझ बलियो बनाउनुपर्ने औँल्याउनुभयो । आलोचना र गुनासो गरेर कुनै पनि आन्दोलन सफल नभएको उल्लेख गर्दै उहाँले उपलब्धिहरु आत्मसाथ गर्नुपर्ने भएकाले समाजवादी क्रान्तिलाई समाउन सक्नुपर्ने बताउनुभयो ।