काठमाडौँ, ८ असार । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुंगिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधार पुस्तक विमोचन कार्यक्रममा उहाँले, शान्ति प्रक्रिया नटुंगिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै संक्रमणकालिन न्यायसँग सम्बन्धित काम छिटोभन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढिराखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल अहिले शान्ति प्रक्रियाको कारणले गर्दा हालको परिवर्तन सहिद छ । शान्ति प्रक्रियाको काम अझै गर्न बाँकी छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित काम छिटोभन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढ्नुपर्नेछ ।’
उहाँले स्वर्गीय पद्यमरत्न तुलाधार एक बहुआयामिक व्यक्तित्व रहेको स्मरण गर्नुभयो । तुलाधारले उत्पीडित भाषा र सांस्कृतिको पक्षमा भएको आन्दोलनको नेतृत्व गर्नका साथै त्यो आन्दोलनमार्फत नेपालको यथास्थितिवाद र राजनीतिक निरंकुशताका विरुद्ध पनि संघर्ष झेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पद्यमरत्न तुलाधार दाइसँग अत्यन्तै भावनात्मक सम्बन्ध रहेको थियो । उहाँ भाषा, सांस्कृतिक आन्दोलनको नायक हुनुहुन्थ्यो । उहाँले उत्पीडित भाषा र सांस्कृतिको पक्षमा आन्दोलनको नेतृत्व त गर्नु नै भयो । तर, त्यो आन्दोलन खाली भाषा र संस्कृतिको आन्दोलन मात्र थिएन । उहाँले त्यो आन्दोलनमार्फत् नेपालको यथास्थितिवादविरुद्ध राजनीतिक निरङकुशताका विरुद्ध पनि संघर्ष झेल्नुभएको थियो ।’
तुलाधारको योगदानलाई सदैव सम्मान गर्दै उहाँले देखेका सपनाहरु पूरा गर्न सबै जना लागि पर्नुपर्ने बताउनुभयो ।