‘प्रतिनिधित्वका नाममा सहभागिता मात्रले महिला उत्थान हुँदैन’

34

जनकपुर, १ असार । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले मुलुकको हरेक संरचनामा एक तिहाइ महिलाहरुको सहभागिता प्रतिनिधित्वका लागि मात्र नभइ नेतृत्व र नीतिगत निर्णय लिनसक्ने भूमिका खोजीका लागि भएको दाबी गर्नुभएको छ ।

पार्टीको धनुषा प्रशिक्षण शाखाले शनिबार जनकपुरधाममा आयोजना गरेको महिला सशक्तिकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘एक तिहाइ संविधानले दियो, पार्टीको संरचनामा एक तिहाइ छौँ । तर, हामी डाडुपन्यु चलाउने ठाउँमा पुगेनौँ । नीति बनाउने ठाउँमा पुगेनौँ । त्यसैले हामीले खोजेको एक तिहाइ पदाधिकारीसहितको अर्थपूर्ण हो । निर्णय गर्ने ठाउँका लागि हो ।’

एक तिहाइका नाममा महिलालाई कमजोर बनाउन खोजेको उल्लेख गर्दै उहाँले समानुपातिकमार्फत् एकतिहाइ पुर्‍याउने तर प्रत्यक्षमा चुनाव लडनका लागि टिकट नदिएर महिलाहरुमाथि अन्याय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘महिलाहरुलाई स्थानीय तहमा उपमेयर र उपाध्यक्षमा टिकट दिने तर अध्यक्षमा नदिएर लैंगिक विभेद भएको छ । महिलाहरुको क्षमता र योग्यताको अपमान भएको छ । त्यसैले अब महिलाहरु एक तिहाइका नाममा खुम्चिनु हुँदैन ।’

Share This:
सम्बन्धित खबर
Loading...