सरकारले जनताका न्यूनतम आवश्यकता पूरा गर्न जरूरी छ : पूर्वराष्ट्रपति भण्डारी [भिडिओ]

32

काठमाडौँ, ३१ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा सार्थक पार्नका लागि सरकारले आधारभूत समस्याहरु समाधान गर्नतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँमा बिहीबार आयोजित ‘२१औँ शताब्दीमा जलवायु परिवर्तन र प्रेस’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संस्कृति र सम्पदाको संरक्षण गर्दै सरकारले आत्मनिर्भरको खोजी गर्नुपर्ने बताउनुभयो ।

‘यदि हामी नेपाली जनतालाई सुखी देख्न चाहन्छौँ भने आम नागरिकका न्यूनतम आवश्यकता पूरा गर्न जरुरी छ । सबैलाई खुसी पार्न त सकिँदैन । तर, आम रुपमा आधारभूत समस्या समाधान गर्न तर्फ जानुपर्छ । आत्मनिर्भर बन्नका लागि हामीसँग स्रोतको कमी छ जस्तो मलाई लाग्दैन । हामीसँग प्रकृति छ, सांस्कृतिक सम्पदाहरु छन्, यी संस्कृति र प्राकृतिक सम्पदाहरुलाई जगेर्ना गर्दै समृद्धिको खोजी गर्नुपर्दछ ।’

मुलुकमा उपलब्ध स्रोत रसाधनको उपयोग गर्न सके परनिर्भर हुनुनपर्ने उहाँको तर्क थियो । त्यस्तै, पूर्वराष्ट्रपति भण्डारीले मिडियाहरु जनता र सरकारबीचको पुल बन्नुपर्ने बताउनुभयो । सबैले आफूलाई बिनाबर्दीको राष्ट्रको पहरेदार सम्झिनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘मिडिया र प्रेस जनता र सरकारको पुल बन्नुपर्छ, पहरेदार हुनुपर्दछ । हामी बिनाबर्दीका राष्ट्रका पहरेदार हौँ भन्ने कुरा सम्झिनुपर्‍यो । मिडिया भइसकेपछि त सरकारको कानमा बाजा बजाउनुपर्‍यो नि होइन ?’

Share This:
सम्बन्धित खबर
Loading...