अमरेशकुमारको प्रश्न- मधेसलाई बजेटमा जहिले पनि उपेक्षित किन गरिन्छ ?

17

काठमाडौँ, ३१ जेठ । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयकमाथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर मन्त्रीको खोजी गर्नुभएको छ । सिंहले अर्थ मन्त्रालय नेपालीको नभइ विदेशीको एजेण्टजस्तो बनेको भनेर आरोप पनि लगाउनुभयो ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेस गर्न संसद्को रोष्टममा पुगेका सांसद सिंहले स्वास्थ्यमन्त्रीलाई नदेखेपछि केही समय रोस्टममा उभिएरै छलफल रोक्न सभामुखसँग माग गर्नुभयो ।

त्यसअघि संसद् देखावटी मात्र भएको बताउनुभएका उहाँले मन्त्रीहरुले सांसदले मागेको प्रश्नको जवाफ नदिने गरेकोप्रति चित्त दुखाउनुभयो ।

‘यहाँ छलफल भइरहेको छ, स्वास्थ्य मन्त्रीज्यू हुनुहुन्न । म प्रश्न गर्न चाहन्छु । स्वास्थ्यमन्त्री मलाई चाहिन्छ । नत्र म यही उभिरहन्छु’ अमरेशले भन्नुभयो । त्यसपछि सभामुख देवराज घिमिरेले एकछिन रोस्टममै रोकिन सिंहलाई आग्रह गर्नुभयो ।

‘माननीयजी एकछिन रोकिनुहोला, स्वास्थ्यमन्त्रीजी केहीबेर अघि यही हुनुहुन्थ्यो दिसा–पिसाबका लागि बाहिर जानुभएको हुनसक्छ । यही कतै हुनुहुन्छ । उहाँ नआउन्जेल माननीयजीहरू एकछिन धैर्यतासाथ रहनुहोला,’ सभामुख घिमिरेले मुस्कुराउँदै भन्नुभयो । ४० सेकेण्ड बढी अमरेश रोष्टममा नै मौन बस्नुभएको थियो ।

स्वास्थ्यमन्त्री प्रदीप यादव संसद् बैठकमा प्रवेश गरेसँगै सभामुखले भन्नुभयो,‘मन्त्रीजी आउनुभयो, माननीयज्यू अगाडि बढ्नुहोस् ।’

त्यसपछि छलफललाई अगाडि बढाएका सांसद सिंहले मधेस प्रदेशमा रेफरल अस्पताल नबनाएकोमा मन्त्री यादवलाई प्रश्न गर्नुभयो । ‘के कारणले मधेसमा रेफरल अस्पताल छैन ?’

उहाँले मधेशमा काजमा परेका एमबिबिएस डाक्टरहरु काठमाडौँमा नै बसिरहेको उल्लेख गर्दै उक्त समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

‘हरेक प्रदेशमा मेडिकल कलेज बनेका छन् । सरकारले मधेस प्रदेशमा मेडिकल कलेज कहिले बनाउने ? मधेस प्रदेशलाई बजेटमा जहिले पनि उपेक्षित किन गरिन्छ ?’ उनले प्रश्न गर्नुभयो ।

यस्तै, छलफलको क्रममा सांसद सिंहले अर्थ मन्त्रालय नेपालीको नभइ विदेशीको एजेण्टजस्तो बनेको भनेर आरोप पनि लगाउनुभयो ।

‘मैले २०७० सालमा पनि भनेको थिएँ, अर्थमन्त्रालय विदेशीको एजेण्ड मन्त्रालय बन्यो, जनताको प्रतिनिधि मन्त्रालय होइन । नेपाली जनताको मन भावनासँग गाइडेड भएको छैन,’ सिंहले भन्नुभयो ।

सांसद सिंहले नेताले जनता ठग्नेबाहेक केही काम नगरेको भन्दै नैतिकताको खडेरी परेको चर्चा गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...