नेपाली जनता ‘हिरो’ खोजिरहेका छन् : नारायण खड्का

33

काठमाडौँ, ३० जेठ । नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले देशमा राष्ट्रिय सरकारको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले देशको वर्तमान राजनीति र भूराजनीतिक परिस्थितिलाई ध्यानमा राखेर ठुला दलहरुले गम्भीर रुपमा राष्ट्रिय सरकारको खाका तयार गर्दै स्पष्ट मार्गचित्र तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता खड्काले नेपाली जनमानसमा असन्तुष्टि बढ्दै गएको र यसले विद्रोहको रुप लिनसक्ने खतरा बढेर गएको बताउनुभयो । व्यवस्था परिवर्तन भएर पनि स्थायित्व बन्न नसक्नु र जनताको दैनिक जीवनमा विद्यमान समस्याहरुको समाधान हुननसक्नु सम्भावित विद्रोहको मुख्य कारण रहेको नेता खड्काको भनाइ छ ।

‘पहिले जनता निराश भए, निराशा सम्बोधन हुनसकेन । त्यसपछि आन्दोलित भए, व्यवस्था परिवर्तन पनि भयो तैपनि उनीहरुको जीवनमा सरकारको पर्याप्त ध्यान गएन र जननिर्वाचित निकायहरु सक्रिय छन् तर पनि जनता आफ्नो दुःख कष्टबाट मुक्त हुन पाएनन् । यही कारण उनीहरु एउटा हिरोको खोजीमा छन्, विद्रोह गर्ने मनस्थितिमा पुगेका छन्’ पूर्वमन्त्री खड्काले विश्लेषणसहित आफ्नो धारणा राख्नुभयो ।

नेपाली जनताको ‘हिरो’ बन्न राजनीतिमा आएका कतिपय नेता राजनीतिक परिदृश्यमा टिक्न नसकेको टिप्पणी गर्दै नेता खड्काले मुख्य राजनीतिक दलहरु र नेता सत्ता सुविधामै अलमलिँदा देशले निश्चित गति लिन नसकेको विश्लेषण गर्दै जनताले अर्को हिरोको खोजी गरिरहेको बताउनुभयो ।

‘त्यो ‘हिरो’ को होला, त्यो त समय आएपछि नै थाहा हुने छ’ नेता खड्काले सांकेतिक भाषामा बताउनुभयो ।

आज बिहान बुढानिलकण्ठस्थित निवासमा नेपाल न्यूज बैंकसँग लामो सम्वाद गर्दै पूर्वपरराष्ट्र मन्त्री खड्काले देशको कुटनीति सञ्चालन अनुभवहीन हातमा पर्ने गरेको र मन्त्रिपरिषद् गठन हुँदा अरुले छानेर बाँकी रहेको कम महत्त्वको तहमा परराष्ट्र मन्त्रालय रहने गरेको अनुभव पनि सुनाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...