काठमाडौँ, ३० जेठ । सांसद भिमप्रसाद आचार्यले विश्वकप प्रतियोगिताको दौरान नेपाल क्रिकेट संघ (क्यान) नेतृत्वमाथि आर्थिक अनियमितता गरेकोदेखि विभिन्न गलत कार्य गरेको आरोप लागिरहेको भन्दै क्यान नेतृत्वमाथि छानबिन गरी सरकारले दोषीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा सांसद आचार्यले विश्वकप खेल्न अमेरिकामा रहेका नेपाली राष्ट्रिय टोलीलाई क्यान नेतृत्वले होटलमा लगेको, उनीहरुले हस्ताक्षर गरेको बल, ब्याट, जर्सीलगायतका सामग्री महँगो मूल्यमा बेचेको, ८० डलर पर्ने टिकट १३५ डलरमा ब्याकमा बेचेको लगायतका विभिन्न आरोपहरु लागिरहेको उल्लेख गर्दै उहाँले नेतृत्वमाथि लागेको आरोप छानबिन हुनुपर्ने माग गर्नुभयो । क्यान जस्तो जिम्मेवार निकायबाट त्यस्ता गतिविधि हुनाले नेपालीको शिर निहुरिएको भनाइ आचार्यको छ ।
उहाँले क्यान नेतृत्वमाथि लागेको आरोपको यथाशीघ्र सरकारले छानबिन गर्नुपर्ने माग गर्नुभयो । ‘विश्वकप प्रतियोगितामा क्यानको नेतृत्वबाट अनेकौँ खालका गलत कामहरु र आर्थिक अनियमितता भएको गुनासाहरु आइरहेकाले सरकारले यथाशीघ्र चाँडो त्यसलाई रोक्नुपर्छ,’ उहाँले भन्नुभयो ।
क्यानले सन्दीप लामिछानेको नाम १५ सदस्यीय टोलीमा समावेश नगरेकाले नै अमेरिकाले उनलाई भिसा नदिएको बताएका आचार्यले क्यान नै विश्वकपमा नेपाललाई हराउन लागेको हो कि भन्ने प्रश्न उठेको र शंका लागेको धारणा राख्नुभयो ।
उहाँले नेपाललाई जिताउन लाग्नुपर्ने क्यानको नेतृत्वले राम्रो खेलाडीलाई हटाएर किन टिम बनायो भन्नेमा प्रश्न उठेको उल्लेख गर्दै थप्नुभयो, ‘दश जनाको सपोर्टिङ टोलीमा डाक्टरलाई हटाएर क्यानले एकजना महिलाको नाम राखेर पठाइयो र आइसिसीले त्यसलाई अस्वीकार गर्यो । जसले नेपालीको प्रतिष्ठामा ठुलो आघात पारेको छ । खेलाडीलाई होटलमा उभ्याएर साख बेचेको भन्ने गुनासो आएको छ । अवैधरुपमा अमेरिकामा जर्सी लगेर महँगोमा बेचेको, खेलाडीहरुले हस्ताक्षर गरेको ब्याट र टिसर्ट पनि बेचेको भन्ने कुरा आएका छन् । अवैध चन्दा उठाएर त्यसको दूरुपयोग गरेको गुनासो पनि आएको छ । नेपाली टोलीले पाएको ४ सय वटा टिकट र २० वटा भिआइपी पास पनि अवैध ढंगले बिक्री गरेको भन्ने व्यापक गुनासो त्यहाँका नेपालीले गरेका छन् ।’
उहाँले थप्नुभ्यो, ‘क्यान नेतृत्वले नेपाल र नेपालीको बेइज्जत गर्ने काम गरेको, आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभएर हराउन भूमिका खेलिरहेको र खेलाडिहरुलाई शिर निहुराएर हिँड्नुपर्ने स्थिति बनाएको जस्ता विभिन्न गलत काम भइरहेको भन्ने गुनासो छ । त्यसैले यो सन्दर्भमा निष्पक्ष छानबिन आयोग गठन गरेर सरकारले यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दछु,’ सांसद आचार्यले भन्नुभयो ।