काठमाडौँ, २० जेठ । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय राजनीतिमा बढेको अस्थिरता र अविश्वासले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला मिलेको बताएको छ ।
आइतबार काठमाडौँमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टीले उत्पादनमा ह्रास, लगानी र पुँजीगत खर्चमा कमी, रोजगारीमा कटौती र बेरोजगारीमा वृद्धिजस्ता प्रवृत्तिले पुनरुत्थानवादी शक्तिहरूलाई हौसला मिलिरहेको जानकारी दिइएको हो ।
अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टीले यस्तो कुकृत्यहरुबाट भाग्न नमिल्ने बताउनुभयो । उहाँले प्रमुख प्रतिपक्षीसहितका दलहरुको बैठकमा सहभागी हुँदा प्रधानमन्त्रीसँग छलफल गरेको समेत बताउनुभयो ।
प्रदेश सरकारमा सत्ता घटक भएको कारण बैठकमा सहभाभी भएको बताउँदै उहाँले कुनै पनि नेतासँग उठबस गर्नु नौलो नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रदेश सरकारका लागि सत्ता घटक भएका कारण प्रमुख प्रतिपक्षीहरुसँग हामी सहभागी भएका हौँ । कसैले पनि कुनै नेतासँग पनि उठबस गर्न पाउँछ र हामीले पनि पाउँछौँ । कसैले आत्तिनुपर्ने आवश्यकता छैन । मैले विपक्षीहरुको बैठकमा सहभागी भएको विषयमा प्रधानमन्त्रीसँग फोन वार्तामा जानकारी समेत गराएको थिएँ ।’
त्यस्तै, अध्यक्ष नेपालले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशमा चारवटा दस्तावेजहरु प्रस्तुत गर्ने बताउनुभयो ।
नेता नेपालका अनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादको कार्य दस्तावेज, संगठनात्मक प्रस्ताव र विधान प्रस्ताव प्रस्तुत हुनेछ । दस्तावेजहरुमा पार्टीको ग्रासरुटदेखि माथिल्लो तहबाट समेत सुझावहरु संकलन भइरहेको बताउनुभयो । सो अवसरमा पार्टीको दशौँ महाधिवेशनको लोगो समेत सार्वजनिक गरिएको थियो ।