सहकारी ठगी प्ररकण : संसदीय छानबिन विशेष समितिले आइतबारदेखि काम थाल्ने

55

काठमाडौँ, १९ जेठ । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित ‘संसदीय छानबिन विशेष समिति’ले आइतबारदेखि काम थाल्ने भएको छ ।

सत्तापक्ष र प्रतिपक्षको लामो रस्साकस्सीपछि एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गठित समितिले सहकारी ठगी प्रकरण छानबिनका लागि आइतबारदेखि काम थाल्नेगरी कार्यालयको व्यवस्थापन भइरहेको संयोजक थापाले बताउनुभयो ।

संसदीय समितिकाल लागि कार्यालय र आवश्यक जनशक्ति जुटाउने कार्य भइरहेको संयोजक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनशक्ति र कार्यालयको व्यवस्थापन भएपछि समितिले काम थाल्छ । सम्भवतः हामी आइतबारदेखि नै काम थाल्नेगरी तयारीमा जुटेका छौँ । आवश्यक बन्दोबस्त मिलाइदिन सभामुखसमक्ष आग्रह गरेका छौँ ।’

सिंहदरबारभित्रै कार्यालय कायम हुने समेत थापाको भनाइ छ ।

सहकारी ठगी प्रकरणमा छानबिनका लागि सरकारले जेठ १५ गते ७ सदस्यीय संसदीय समिति गठन गरेको थियो । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबीसहित उहाँको नाम लेख्नुपर्ने अडानबाट पछि हटेपछि संसदीय छानबिन समिति गठन भएको हो ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई र नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक/एक जना सांसद राखिएको छ ।

समितिमा कांग्रेसबाट बद्रीप्रसाद पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट थापा र सरिता भुषाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ध्रुवबहादुर प्रधानलाई राखिएको छ ।

संसदीय समितिलाई आवश्यक छानबिन गरी प्रतिवेदन बुझाउन तीन महिनाको अवधि दिइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...