समाचार टिप्पणी : बुढानिलकण्ठ केन्द्रबिन्दु भएर आएको राजनीतिक भूकम्प

67

काठमाडौँ, १८ जेठ । १६ जेठको बुधबार साँझ काठमाडौँको बुढानिलकण्ठ केन्द्रबिन्दु भएर उठेको राजनीतिक भूकम्पले सत्तागठबन्धनलाई बेस्सरी नै हल्लाएको छ । त्यसको परकम्पले सत्ताका अन्तरकुन्तरमा कपालजत्रा रेशा कोरिएका छन् भने अनगिन्ती परकम्प आउनेक्रम रोकिएको छैन ।

प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा अवस्थित निजी निवासमा अरु प्रतिपक्षी दलका नेताहरुलाई परामर्शमा निमन्त्रण गर्नुभएको थियो । साथै निमन्त्रणा पाएका थिए सत्ता गठबन्धनका नेता पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पनि । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि त्यहाँ सहभागी थिए । मधेसमा सरकार निर्माणबारे छलफल गर्ने उद्देश्य थियो र एकीकृत समाजवादीका अध्यक्ष नेपालको उपस्थिति निकै महत्वपूर्ण थियो ।

जसै नेता नेपाल बुढानिलकण्ठ बैठक कक्षमा आसनग्रहण गरेको खबर महाराजगञ्ज चक्रपथ हुँदै बालुवाटार पस्यो अनि हल्लियो गठबन्धनको जग र तिलमिलाए प्रधानमन्त्री पुष्पकमल दाहाल ।

भर्खरै चौथोपटक विश्वासको मत लिनुभएका प्रचण्डलाई तुरुन्तै पाँचौँपटक विश्वासको मत लिनुपर्ने आपत् आइपर्ला भन्ने भयले छोप्नुछोप्यो भने त्यो अन्यथा पनि होइन । गृहमन्त्री रवि लामिछाने र गुप्तकार्यमा सक्रिय राज्यका तमाम सन्यन्त्र परिचालित भए, नेता नेपाल बुढानिलकण्ठबाट निस्किएर कोटेश्वर निवास प्रवेश नगरुन्जेल गृहप्रशासनले ढुक्कले श्वास पनि लिएन । अनि प्रधानमन्त्री प्रचण्डले फोनवार्ता गरेर नेता नेपालको हालखबर सोधेपछि मात्र राजनीतिक कम्पन केही मत्थर भयो । तर, यत्तिले मनको बाघको शिकार हुनसकेन, प्रधानमन्त्रीले समाजवादीकै नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको सहारा लिनुपर्‍यो । खनालले आफ्नो पार्टीका अध्यक्ष नेपाल वर्तमान गठबन्धनको विकल्प सोच्ने अवस्थामा नपुगेको भनेर स्पष्टीकरण दिएपछि र आफैँ भेटेर ग्रीन टी पिएपछि मात्र प्रधानमन्त्री प्रचण्डको निधारको पसिना ओभाएको थियो ।

सत्ता गठबन्धनको पिँडुलामा कति पानी छ भन्ने कुरा बुढानिलकण्ठ बैठकको आयोजनले जनजनले थाहा पायो । प्रधानमन्त्रीले स्पष्टीकरण नै दिँदै हिँड्नुपर्‍यो । राजनीतिमा उठेको यो तरंग चियाको कपमा उठेको जस्तो गफको विषय मात्र थिएन । यसले भूकम्पले पृथ्वी हल्लाएपछि सतहमुुनि बस्ने प्राणीहरु सतहमा निस्किएर आत्तिँदै दौडधुप गरेझैँ गठबन्धनका नेतागणहरुलाई दौडायो ।

यतिसम्मक कि विराटनगर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सदाझैँ उपस्थित सम्वाददाताहरुसँग स्पष्टीकरण नै दिनुपर्‍यो । उहाँले नेत नेपालले आफूलाई वर्तमान सत्ता समीकरणभन्दा बाहिर नजाने स्पष्ट गरेको भनेर प्रष्ट्याउनुभएको थियो ।

प्रधानमन्त्रीले भन्नुभएको थियो, ‘माधवजीको व्यवहार केही पहिलादेखि प्रतिपक्षसँग पनि र सत्ता पक्षसँगपनि जोडिने जस्तो देखिएको थियो, आज बिहान (बिहीबार) मसँग कुरा हुँदा माधवजी वर्तमान समीकरणभन्दा बाहिर नभएको र नहुने पनि कुरा क्लियर गर्नु भएको छ ।’

अझै स्पष्टीकरण
प्रधानमन्त्री प्रचण्डले आज पनि बुढानिलकण्ठ बैठककै बारेमा पार्टी नेता र कार्यकर्ताहरुलाई आश्वस्त पार्नुपरेको छ । उहाँले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउँदै सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा दाहालले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशंका, उपशंका नगर्न निर्देशन नै दिनुभयो ।

वर्तमान सत्ता समीकरणमा रहेको एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरुको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । जवाफमा प्रधानमन्त्रीको भनाइ थियो, ‘सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।’

आफूले पनि केही दिनअघि प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै प्रधानमन्त्री दाहालले दलका नेताहरुबीच भेटघाट हुँदैमा राजनीतिमा कुनै फरक नपर्ने भनेर आश्वस्त रहन सुझाउनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...