सहकारीको बचत अपचलन गर्ने जोकोहीलाई कारबाही हुनुपर्छ : डा.संग्रौला

49

नेपालगञ्ज, १८ जेठ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने जोडिएका सहकारी संस्थाहरुको स्पष्ट छानबिन हुनुपर्ने जोड दिनुभएको छ ।

कांग्रेसले सदन र सडकमार्फत् दबाब सिर्जना गराएर छानबिन समिति बनाएको उल्लेख गर्दै सर्वसाधारण बचतकर्ताको रकम अपचलन गर्ने गृहमन्त्रीलगायत जोकोही कारबाहीका भागीदार बन्नुपर्ने बताउनुभयो ।

शुक्रबार बाँकेको नेपालगञ्जमा आयोजित अगुवा कार्यकर्ता भेला एवम् अन्तरक्रिया कार्यक्रममा उहाँले सहकारीको पैसा अपचलन गर्ने जोकोही कारबाहीको दायरामा आउनुपर्ने बताउनुभयो ।

‘गृहमन्त्रीले गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जिबी)राईको कम्पनीबाट ऋण लगानी आएको दाबी गर्नुभएको छ तर, सर्वसाधारण बचतकर्ताको उजुरीपछि प्रहरी, सिआइबी, सहकारी कार्यालय र स्थानीय तहले गरेको छानबिन प्रतिवेदनबाट संकलित तथ्यअनुसार चार सहकारीबाट मात्र गोर्खा मिडिया नेटवर्कमा सिधैँ कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको पुष्टि भएको छ । सहकारीको ८० करोड ३१ लाख रुपैयाँ सार्दा रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका सेयरधनी सञ्चालक र प्रबन्ध निर्देशक रहेको स्पष्ट छ । त्यसको छानबिन हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

त्यस्तै, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट कम्तीमा १० करोड रुपैयाँ र साहारा चितवन सहकारीबाट कम्तीमा ११ करोड ७१ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा सारिएको विवरण सप्रमाण प्रकाशित भइसकेकाले यसको स्पष्ट छानबिन हुनुपर्नेमा उहाँको जोड थियो ।

त्यस्तै, डा.संग्रौलाले सरकारले भर्खरै ल्याएको ठुलो आकारको बजेटले आर्थिक वृद्धिदर ६ प्रतिशतले बढ्ने घोषणा गरेपनि लगानी आउने र उत्पादन बढ्नेमा आशावादी हुन नसकिने बताउनुभयो । ‘बजेट कर्मकाण्डी मात्र देखिन्छ । बजेटरी सुधार केही छैन । बजेट कनिका छर्ने प्रवृत्तिको छ । आफ्ना कार्यकर्ता र समर्थकबाट आएका योजना प्राथमिकतामा छन भने ठुला आयोजना सम्पन्न गर्नेगरी बजेट विनियोजन गरिएको छैन । यसबाट उत्साहित हुने अवस्था छैन,’ उहाँले भन्नुभयो ।

उहाँले कांग्रेस अब जनताको घरदैलोमा पुगेर वास्तविक समस्या बुझ्ने र आवाज उठाउने अभियानमा जुटेको बताउनुभयो ।

समृद्ध एवम् समुन्नत नेपाल र सम्मानित नेपाली पार्टीको ध्येय भएको उल्लेख गर्दै डा.संग्रौलाले प्रतिपक्षमा बसेर जनताका भावना र चाहना बोलिरहने प्रतिबद्धता जनाउनुभयो । जनता र जनजीविकाका सवालमा कांग्रेसले काम गर्नुपर्ने उहाँको भनाइ छ ।

सत्ता गठबन्धन विधि, कानुन र प्रक्रिया मिचेर निरंकुशतातर्फ उन्मुख रहेको उल्लेख गर्दै सर्वसत्तावाद स्वीकार्य नहुने चेतावनी दिनुभयो । उहाँले कांग्रेसले अब जनतालाई विकाससँग जोडेर र जनताका हरेक समस्याहरुको समाधान गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...