ठगी मुद्दामा जनप्रतिनिधिसहित ४ जना पक्राउ

31

कास्की, २३ मङ्सिर । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित ४ जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो ।

पर्यटकीय क्षेत्र लेकसाइडस्थित फुटट्रयाकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्ति १३ हजार ५०० उठाएर व्यवसाय दर्ता नै नगरी ठगी गरेको भन्ने पीडितको जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।

पक्राउ पर्नेमा वडा सदस्य पहारीसहित पोखरा–६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, लेकसाइडकै २२ वर्षीय प्रवीण विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार रहेका छन् ।

प्रहरीका अनुसार पीडित व्यक्तिहरूको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ठगीमा संलग्न अन्यको खोजी भइरहेको जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी विकले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...