चोरीका हतियारसहित ३ जना पक्राउ

41

काठमाडौँ, २३ मङ्सिर । चोरीका दुई नाल हतियारसहित ३ जनालाई पक्राउ गरिएको छ । प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट घरेलु हतियारसहित चोरीमा संलग्न सुनसरी बराह नगरपालिका–३ निवासी ३६ वर्षीय दिलिप माझी, काठमाडौँ महानगरपालिका–१३ निवासी २१ वर्षीय कुशल मल्लिक र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–३ का २७ वर्षीया काजल कुमारी भुजेललाई बिहीबार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट दुई नाले बन्दुक एक थान, २२ बोरको राइफल एक थान, खुँडा २ थान, खुकुरी ६ थान, हँसिया एक थान, फलामको चुप्पी एक थान, बञ्चरो एक थान र मोटरसाइकलको सक २ थान बरामद गरेको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई डाँका चोरी तथा हातहतियार खरखजनासम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी प्रहरी वृत्त कालिमाटीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

यही मङ्सिर १६ गते काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ७४ वर्षीय पुष्प जोशीको घरबाट इजजात पत्रसहितको २ नाले ४१० बोरको टोटावाल बन्दुक एक थान र २२ बोरको राइफल अज्ञात समूहले चोरी गरी लगेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...