सहकर्मीमाथि पेट्रोल छर्किइ आगो लगाएर भागेका युवक पक्राउ

21

काठमाडौँ, २५ असोज । सहकर्मीमाथि पेट्रोल छर्किइ आगो लगाएर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोमबार ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित एसबी ह्यान्ड ग्राफीमा काम गर्ने २६ वर्षीय शिवु भनिने शिव विश्वकर्माले आफूसँगै काम गर्ने २४ वर्षीय अरूण विश्वकर्मामाथि पेट्रोल छर्किएर आगो लगाएर फरार भएका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पर्सा जिल्ला सोबर्णपुर गाउँपालिका–६ घर भएका शिवलाई घटनाको भोलिपल्ट काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार अरूणमाथि लागेको आगो निभाउने क्रममा सोही स्थानमा काम गर्ने थप २ जना पनि घाइते भएका थिए ।

आगो लागेर घाइते भएका तीनै जनाको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको एसपी रेग्मीले जानकारी दिए ।

पक्राउ परेका युवकलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको एसपी रेग्मीले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...