गैरीगाउँ हत्या प्रकरण : सञ्जयलाई जन्मकैदको मागदाबीसहित प्रतिवेदन पेश

24

काठमाडौँ, २५ असोज । काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँको दिव्य सःमिलमा गत भदौ २९ गते राति भएको ४ जनाको हत्य प्रकरणको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेर बुधबार प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

व्यक्तिगत प्रतिशोध (रिसिबी)का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको हो । “प्रहरीले हत्या आरोपमा सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । उनी फरक क्षमता (बोल्न नसक्ने) भएकाले प्रहरीले दोभासेमार्फत् बयान लिएको थियो,” जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले भने ।

बयानका क्रममा सञ्जयले अन्य व्यक्तिको पनि हत्या गरेको बताएका थिए । अनुसन्धानका क्रममा प्रहरीले ‘ब्रेन म्यापिङ’ (दिमागी अवस्था परीक्षण) गरेको थियो । उक्त परीक्षणमा भण्डारीको दिमाग सामान्यभन्दा तीक्ष्ण देखिएको थियो । सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले प्रतिवेदन आइपुगेको र कार्यालयले अध्ययन गरिरहेको जानकारी दिए । अध्ययनपछि अभियोजन दर्ता हुने छ । “प्रहरीले भने उनलाई जन्मकैदको सजाय माग दाबी लिनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको छ,” उनले भने ।

आरोपीले रिसिबी साँधेर एक व्यक्तिको हत्या गरेको र उक्त घटना भएको देखेपछि घटना बाहिर जान नदिन एकै परिवारका अन्य तीनको हत्या गरेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । राठौरको नेतृत्वमा उक्त घटनाको अनुसन्धान समिति बनाइएको थियो ।

भदौ २९ गते राति ११ः५५ बजेको समयमा उक्त घटना भएको थियो । घटनामा कुमार भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलाबारी स्थायी घर भएका नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...