अष्ट्रेलिया पठाइदिन्छु भनी साढे १७ लाख रूपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

30

काठमाडौँ, ९ असोज । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा फ्लाइङ टप एजुकेसन एन्ड इमाइग्रेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–८ स्थायी घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका–९ सिर्जनानगर बस्ने ४५ वर्षीय विष्णु केसी रहेका छन् ।

केसीले पवनराज दाहाललाई वैदेशिक रोजगारीका लागि वर्किङ भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी १६ लाख लाग्छ सम्बन्धित देशमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने र मासिक २ लाखभन्दा बढी कमाइ हुन्छ भनी पीडितबाट पटक–पटक गरी १७ लाख ७९ हजार रूपैयाँ रकम लिइ भिसासमेत दिइसकेका थिए ।

रोजगारीका लागि पीडित अष्ट्रेलिया जाने भनी विमानस्थल गएकोमा अध्यागमन कार्यालयले नक्कली भिसा भनी फर्काएपछि पीडित आफू ठगीमा परेको थाहा पाएपछि उनले विष्णु केसीलाई फोन गर्दा फोन नउठाइ सम्पर्कविहीन भएकाले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा आफू ठगीमा परेको भनी पीडितले जाहेरी दिएका थिए ।

अनुसन्धानमा उक्त कन्सल्टेन्सीले ठगी गर्ने उद्देश्यले नै रकम लिएको देखिएपछि तत्कालै अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...