वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ

13

काठमाडौँ, २५ भदौ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर थिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलाली लम्किचुहा नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नयाँबसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर र स्याङ्जा वालिङ नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौँ–४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरूङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका लामिछानेले बलराम थापा मगरसहित तीन जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति ८ लाख लाग्ने भन्दै पीडितबाट पटक–पटक गरी जम्मा १७ लाख रकम लिइ सम्पर्कविहीन भएका थिए । यस्तै, मगरले निशान खड्कालाई वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने तथा त्यसका लागि ५ लाख लाग्ने भन्दै निज पीडितबाट पटक–पटक गरी दुई लाख ५० हजार रकम लिइ सम्पर्कविहीन भएको तथा गुरूङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिने भन्दै पीडितबाट पटक–पटक गरी जम्मा १४ लाख रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

तीनै जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...