सुन तस्करी प्रकरण : सीमा क्षेत्रबाट एक जना पक्राउ

20

काठमाडौँ, १९ भदौ । हङकङबाट ल्याइएको झन्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप एक जनालाई पक्राउ गरेको छ ।

रूपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल–भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए ।

ब्युरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज काठमाडौँ ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उनले बताए । यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ गर्न सकिएको थिएन । उनका बारेमा सूचना संकलन गरिरहेको प्रहरीले सीमा क्षेत्रमा आएपछि पक्राउ गरिएको कडायतले बताए ।

सुन तस्करी प्रकरणको सूचना संकलनका लागि प्रहरीको एउटा टोली भारत गएको छ भने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्य हङकङ गएका छन् । उनीहरूले अहिले पनि तस्करीका सूचना संकलन जारी राखेको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर तस्करी गरेर लैजान लागेका बेला काठमाडौँको सिनामंगलबाट साउन ३ गते राजश्व अनुसन्धान विभागले ६० किलो ७१६ ग्राम सुन बरामद गरेको थियो । ब्रेक शुभित्र लुकाएर ल्याइएको उक्त सुन प्रकरणमा अहिलेसम्म प्रहरीले २६ जनालाई पक्राउ गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...