हत्या अभियोगमा प्रदेशसभा सदस्य पक्राउ

21

राजविराज, १९ भदौ । हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२)बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरूद्धकुमार सिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले सोमबार राजविराजबाट मधेस प्रदेशसभा सदस्य सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विसं २०६४ असार ९ गते सिंहको निर्देशनमा सप्तरीको साविक बोदेबर्साइन गाविस वडा नम्बर ४ बाट अपहरण गरी गोविन्द चौधरीको हत्या गरेको आरोप छ ।

सोही दिन नेङ्गडा गाविस वडा नम्बर ५ वैरिया टोलमा पुर्‍याई पाँच वटा गोली हानी सप्तरीको खोक्सर प्रवाहा गाविस–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्या गरेको आरोप । उक्त विषयमा जाहेरी परेपछि अदालतमा बयान दिन नआएर सिंह फरार भएका थिए । फरार सूचीमा रहेका उनलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको थियो ।

मृतकका दिदी धनगढी गाविस–३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसहित ९ जनामाथि किटानी उजुरी हालेकी थिइन् ।

गोविन्द चौधरीको हत्याको आरोपमा पक्राउ परेका सिंहलाई जिल्ला अदालत सप्तरीबाट म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...