वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

33

काठमाडौँ, ७ भदौ । वैदेशिक रोजगारीका लागि सर्बिया र इटाली पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ स्थायी घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने २७ वर्षीय सुमन बुढाथोकी तथा इलाम सूर्योदय नगरपालिका–१४ घर भई हाल काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने ३० वर्षीय छविलाल अधिकारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकाले विनोद श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिने र त्यसका लागि ६ लाख ५० हजार लाग्ने तथा सर्बिया पुगेपछि कृषि फार्म काम लगाइदिने र मासिक ५० हजारभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाइ प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा एक लाख ५० हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा बुधबार सामाखुसीबाट पक्राउ गरिएको हो ।

यसैगरी, वैदेशिक रोजगारीका लागि इटाली पठाइदिने भन्दै रकम ठगी गर्ने कालीकोट तिलागुफा नगरपालिका–३ घर भई हाल जिल्ला काठमाडौँ कीर्तिपुर नगरपालिका–५ बस्ने ५२ वर्षीय विष्णुऋषि पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

निज तीर्थबहादुर थापालाई वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु त्यसका लागि ८ लाख लाग्ने तथा इटाली पुगेपछि पेट्रोलपम्पमा काम लगाइदिने भन्दै विश्वास दिलाई निज पीडितबाट पटक–पटक गरी जम्मा ४ लाख २५ हजार रकम लिइ सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचाल, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...