फेसबुक ह्याक गरी ठगी गरेको आरोपमा ५ जना पक्राउ

33

काठमाडौँ, ३२ साउन । फेसबुक ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा घर भई काठमाडौँ नयाँ बसपार्क बस्ने सिमान्त लामा, अमन्त लामा, कास्कीकी सुब्बु भन्ने शुभेक्षा गरूङ, जितपुर सिमरा उपमहानगरपालिका–१७ घर भई काठमाडौँको नयाँ बसपार्क बस्ने अनुप श्रेष्ठ र रोहन तामाङ छन् । उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताए ।

प्रहरीका अनुसार सिमान्त लामाको फेसबुक ह्याक गर्ने गर्थे । त्यसपछि विभिन्न बहाना बनाएर फेसबुकमा रहेका साथीहरूलाई म्यासेज गरेर अमन्त लामाले पैसा माग्ने गरेको एसपी रेग्मीले जानकारी दिए ।

शुभेक्षा र अनुपले वालेटमा आएको रकम झिक्ने काम गर्थे । रोहनले भने सिमकार्ड उपलब्ध गराएको प्रहरीले जनाएको छ ।

यसरी फेसबुक ह्याक गरी रकम माग्ने गरेको भन्ने उजुरी पछि प्रहरीको टोली खटिएको थियो । उनीहरू बसपार्कस्थित रेसुंगा बुटवल गेस्ट हाउसमा कोठाहरू भाडामा लिएर बसेको अवस्थामा फेला परेका हुन् ।

अनुसन्धानको क्रममा उनीहरूले ३० वटा फेसबुक ह्याक गरेको खुलेको छ । १२ वटा जिमेल आइडीको प्रयोग गरी उनीहरूले फेसबुक ह्याक गर्ने गरेको एसपी रेग्मीले बताए ।

त्यस्तै, विभिन्न बहानामा ओटिपी कोडहरू मागेर फेसबुक ह्याक गरेका हुन् । उनीहरूविरूद्ध २२ जना पीडित प्रहरी सम्पर्कमा आएका छन् ।

उनीहरूले १४ लाख ५८ हजार रूपैयाँको कारोबार गरेको देखिएको छ ।

उनीहरूमाथि ठगी तथा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...