अपरेसन ‘ब्राभो किलो’ : बंगलादेशी नागरिकलाई बन्धक बनाउने ७ जना पक्राउ

36

काठमाडौँ, २८ साउन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बंगलादेशका नागरिकलाई अपहरण गरी नेपाल ल्याएर शरीर बन्धक बनाउने गिरोहका ७ जनालाई पक्राउ गरेको छ ।

कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका सातै जनालाई सार्वजनिक गरेको हो । प्रहरीले अपरेसन ‘ब्राभो किलो’ नाम दिएर उक्त गिरोहलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोजकुमार केसीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा बंगलादेश गाजीपुर घर भई काठमाडौँ महानगरपालिका–९ कालिमाटी बस्ने ४७ वर्षीय अमिर होसेन, बंगलादेश बरिसाल घर भई ललितपुर महानगरपालिका–२८ हरिसिद्धी बस्ने ३७ वर्षीय मोहम्मद मोशिउर रहमान, बंगलादेश कुमिल्ला घर भएकी २७ वर्षीया तारा नेपाली, बंगलादेश ढाका घर भई काठमाडौँ हाँडीगाउँ बस्ने २१ वर्षीया ताहमिना बेगम, बंगलादेश ढाका घर भई काठमाडौँ कपुरधारा बस्ने २१ वर्षीय जाहङ्गिर आलम र इलाम घर भई काठमाडौँ नक्साल बस्ने ३३ वर्षीया रोशनी राई रहेका छन् ।

पक्राउ परेका उक्त गिरोहले बंगलादेशी ७ जना नागरिकलाई वैदेशिक रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै नेपाल ल्याइ काठमाडौँका विभिन्न स्थानमा रहेका होटलमा बन्धक बनाइ राख्ने र उनीहरूका परिवारसँग पैसा माग्ने गरेको खुल्न आएको प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक डा.केसीले बताए ।

उक्त घटनामा प्रहरीले ८ जना बंगलादेशी नागरिकलाई सकुशल उद्धार गरेको पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको थियो । पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...