दागबत्ती दिन लागेको शव प्रहरीले चिताबाटै उठाएपछि…

111

झापा, २३ साउन । कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अवस्थामा एक महिलाको शव प्रहरीले सोमबार अपरान्ह चितबाटै उठाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागबत्ती दिन ठिक्क पारेको अवस्थामा महिलाको शव चिताबाटै उठाएको हो ।

कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको सोमबार दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि उनको शव कनकाई माईमा पुर्‍याएको थियो । तर, प्रहरीले घाटबाटै शव उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो ।

इलाका प्रहरी कार्यालय अमरमनीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले स्थानीयवासीको मौखिक उजुरीका आधारमा शव नियन्त्रणमा लिँदै पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिए ।

कनकाई–३ निवासी ५० वर्षीय चोपेन्द्र कोचरकारका दुई जना श्रीमती रहेको र मृतक पूजा उनकी कान्छी श्रीमती भएको बताइएको छ । प्रायजसो घरमा झैझगडा भइरहने र जेठी श्रीमती तथा उनका श्रीमान्‌को कुटाइबाट उनको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेको बताइएको छ ।

“स्थानीयवासीको मौखिक उजुरीका आधारमा पूजाको शव परीक्षणका लागि लगिएको हो,” डिएसपी कार्कीले भने । पूजाको बिर्तामोडस्थित कञ्चनजंघा अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

उनका श्रीमान्‌ चोपेन्द्र ठेक्कापट्टाको काम गर्दै आएको जनाइएको छ । चोपेन्द्रको परिवारमा यसअघि दुई श्रीमती र श्रीमान्बीच मादक पदार्थ खाएको विषयमा झैझगडा हुँदै आएको स्थानीयवासीले बताएका छन् । मृतक पूजाका १० वर्षीय एक छोरा रहेको जनाइएको छ ।

घटनाको विषयमा प्रहरीले अनुसन्धान सुरू गरेको डिएसपी कार्कीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...