नेदरल्यान्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

43

काठमाडौँ, १६ साउन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि नेदरल्यान्ड्स पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई सोमबार काठमाडौँको मण्डिखाटारबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका–१३ स्थायी घर भइ हाल काठमाडौँ महानगरपालिका–३१ शान्तिपुर बस्ने ३७ वर्षीय कपिल वर्मा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका वर्माले विक्रम कार्कीसमेत ६ जनालाई वैदेशिक रोजगारीका लागि नेदरल्यान्ड्स पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति १२ लाख लाग्ने, नेदरल्यान्ड्समा प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने तथा मासिक २ लाखभन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितहरूबाट पटक–पटक गरी जम्मा ४४ लाख ५० हजार रकम लिइ सम्पर्कविहीन भइ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका वर्मालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...