मेची राजमार्ग पुनः अवरूद्ध

44

पाँचथर, १३ असार । मेची राजमार्गअन्तर्गत पाँचथरको हेँवाखोलामा पुनः यातायात अवरूद्ध बनेको छ । यातायात नियमित गर्न मंगलबारदेखि सञ्चालनमा ल्याइएको डाइभर्सनमा गएराति आएको बाढीले क्षति पुर्‍याएपछि यातायात पुनः अवरूद्ध बनेको हो ।

हेँवाखोलामा बाढी आइ डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो । बाढीले डाइभर्सजमा क्षति पुर्‍याएपछि यातायात सञ्चालन पूर्णरूपले अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । प्रहरीले यातायात अवरूद्ध भएकाले मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्डमा सवारी सञ्चालन नगर्न सबैमा सचेतसमेत गराएको छ ।

यही असार २ गते राति आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेँवाखोलास्थित सडक पुल बगाएपछि राजमार्ग अवरूद्ध भएको थियो । यातायात अवरूद्ध भएपछि ४ दिनको प्रयासमा डाइभर्सन निर्माण गरी मंगलबारदेखि पुनः सञ्चालनमा ल्याइएको थियो ।

पानीको बहाव घटेपछि गएराति १० बजेसम्म राजमार्ग सञ्चालन भएको थियो । प्रहरीले जोखिमलाई ध्यानमा राख्दै गएरातिदेखि डाइभर्सनबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...