हेवाखोला बाढीपहिरो : बेपत्तामध्ये एकको शव भेटियो [अपडेट]

137

खाँदबारी, ५ असार । सङ्खुवासभामा बाढी पहिराेमा परेर बेपत्ता भएका २१ मध्ये एक जनाको शव भेटिएको छ । सोमबार चैनपुर नगरपालिका–१० निगुरेमा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र गोदारले जानकारी दिए ।

शरीरको आधा भाग (कम्मर)भन्दा मुनि मात्र भेटिएका कारण शवको पहिचान खुल्न सकेको छैन । सुपर हेँवा हाइड्रोपावरबाट बेपत्ता भएका एकजना पुरुषको शव फेला परेको डिएसपी गोदारले बताए । फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता भएका थिए । बेपत्ता २१ जनामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना मजदुर हुन् । बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एकजना मजदुर अझै बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बाढीले बगाउँदा सुपर हेँवाखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन् । गम्भीर घाइते दुवै जनाको हेल्पिङ हेन्ड्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ ।

चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो । बाढीले जिल्लाका विभिन्न ११ घरमा क्षति पुगेको छ । बाढीले तीनवटा पक्की पुलमा क्षति पुर्‍याएको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...