सय दिनमा पाथीभरा मन्दिरको आम्दानी ६६ लाखभन्दा बढी

109

ताप्लेजुङ, २१ जेठ । पाथीभरा मन्दिरमा १०० दिनमा ६६ लाखभन्दा बढी भेटी संकलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरू गरिएको हो ।

समितिका अनुसार फागुनमा २१ लाख ७० हजार २९४, चैत महिनामा २० लाख ६४ हजार ७४३ र वैशाखमा १८ लाख ८५ हजार १०५ भेटी संकलन भएको छ । त्यस्तै, जेठमा हालसम्म ५ लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।

यसअछि मन्दिरमा हुने रकम समितिले पारदर्शीरूपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए । रकम अपारदर्शी भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परिसकेको छ ।

नयाँ समिति आएपछि संकलित रकम सार्वजनिक गर्न सुरू गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । “पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएको १०० दिनमा ६६ दाख ६१ हजार ३७८ भेटी संकलन भएको छ । यसले नयाँ समितिलाई काम गर्ने हौसला थपेको छ,” उनले भने ।

स्थानीय तह निर्वाचनपछि पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । हाल मन्दिर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...