जंगली च्याउ खाँदा आमाछोराको मृत्यु

38

धनकुटा, २० जेठ । धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनकी ७ वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ ।

सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला अस्पताल धनकुटामा उपचार हुन नसकी धरान रेफर गरिएका उनीहरूको उपचारका क्रममा शुक्रबार बिहान ९ः१५ बजे आमाको मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र बहादुर कुँवरले जानकारी दिए ।

सिकिस्त रहेका उनका छोराको पनि आइसियू कक्षमा उपचारका क्रममा बेलुकी मृत्यु भएको छिमेकी भोगेन्द्र राईले जानकारी दिए । प्रहरी सञ्चार शाखाका अनुसार मृतकले यही जेठ १५ गते धनकुटा–७ मा रहेको चुलीवन जंगलबाट जंगली च्याउ ल्याएर खाएका थिए । च्याउ खाएपछि बिरामी परेका उनीहरू जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना भएका थिए ।

जिल्लामा उपचार हुन नसकेपछि १८ गते उनीहरूलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । उपचारमा संलग्न जिल्ला अस्पतालका डा.डुराण्ड सिंह खड्काका अनुसार पखाला र बान्ता हुने समस्या लिएर बुबाआमा र छोरा अस्पताल आएका थिए । उपचारपछि बुबा ठिक भएर आमा छोराको स्याहारमा रहेका थिए भने आमा छोराको स्वास्थ्यमा सुधार भइरहेको थियो ।

अचानक मृतक आमाको रक्तचाप कम भई बेहोसीको अवस्था छाएको र छोराको मिर्गौलामा समस्या देखा परेको थियो । त्यसपछि भने थप उपचारका लागि धरान रेफर गरिएको डा.खड्काले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...