सङ्खुवासभाको भोटखोलामा ५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

45

खाँदबारी, ११ वैशाख । सङ्खुवासभाको उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

वैशाख ७ गतेदेखि गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए । वैशाख ७ गते राति परेको चट्याङले लची डाँडामा राखिएको नेपाल टेलिकमको टावरमा क्षति पुगेपछि भोटखोलामा टेलिफोन सेवा अवरुद्ध भएको अध्यक्ष भोटेले बताए ।

उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेलाबेला टावरमा समस्या आउने गरेको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिंगम, छुम्सुर, रिदाकलगायत दर्जनौँ गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...