किमाथांका नाका सञ्चालनमा ल्याइने

183

खाँदबारी, १० वैशाख । सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोला सीमा किमाथांकानाका चाँडै सञ्चालन ल्याइने भएको छ । आज परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभा उत्तरी क्षेत्र भोटखोलाको किमाथांका नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको बताए ।

किमाथांकानाका सञ्चालनमा ल्याउन परराष्ट्रमन्त्री साउदले प्रतिबद्धता व्यक्त गरेको सङ्खुवासभाका प्रदेशसभा (१) का प्रदेश सदस्य राजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार परराष्ट्रमन्त्री साउदले ध्यानाकर्षण पत्र बुझ्दै किमाथांका नाका सञ्चालन गर्ने विषयलाई उच्च प्राथमिकता दिने बताएका हुन् ।

आइतबार मन्त्रालयमा सङ्खुवासभा जिल्लाका प्रतिनिधिसभा सदस्य दीपक खड्का, प्रदेशसभा सदस्य कार्कीलगायत जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिले चीन सरकारसँग नाका खोल्न पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएका थिए ।

परराष्ट्रमन्त्री साउदले नाका सञ्चालन पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको प्रदेशसभा सदस्य कार्कीले बताए । किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले यसलाई प्राथमिकतामा राख्ने परराष्ट्रमन्त्री साउदले बताएका थिए ।

कोरोना महामारीका कारण तीन वर्षदेखि उक्त नाका बन्द रहेको छ । किमाथांका नाका खुलाउन यसअघि प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...