मेयर हर्क साम्पाङले फेरि मागे वडाध्यक्षहरूको राजीनामा

29

काठमाडौँ, ८ वैशाख । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फेरि वडाध्यक्षहरूको राजीनामा मागेका छन् । बिहीबार एक विज्ञप्तिमार्फत् मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् ।

वडाध्यक्षहरूले पटक–पटक कार्यपालिका बैठक बहिष्कार गरेपछि आफू राजीनामा माग्न बाध्य भएको मेयर साम्पाङको भनाइ छ ।

“कसैले ‘म बैठक बस्दिनँ’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिस्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरून्तै राजीनामा दिएर बाटो प्रशस्त बनाइ आम धरानवासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ,” उनले विज्ञप्तिमा भनेका छन् ।

मेयर साम्पाङले वडाध्यक्षहरूलाई आफूले गरेको काम कारबाही तुरून्तै सार्वजनिक गर्न पनि निर्देशन दिएका छन् ।

“वडाहरूमा के कस्ता योजना तथा कार्यक्रमहरू सम्पन्न भए भन्ने जानकारी मागेको भन्ने कुरालाई लिएर असहमति राखिरहनपर्ने कुनै कारण नभएको तर उल्टै संविधानको धारा २७ मा उल्लेखित सूचना पाउने नागरिकको मौलिक हक दिन नमानेको देखिएकाले वडाहरूमा के कस्ता, के कति काम भएका छन् तुरून्तै सार्वजनिक गर्न यही विज्ञप्तिमार्फत् निर्देशन दिन्छु,” उनले भनेका छन् ।

यसअघि उनले गएको पुस १ मा पनि वडाध्यक्षहरूको राजीनामा मागेका थिए । वडाध्यक्षहरूले बहिस्कार गर्दा कार्यपालिका बैठक नियमितरूपमा बस्न नसकेपछि त्यतिबेला पत्रकार सम्मेलन नै गरेर उनले राजीनामा मागेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...