कोशी प्रदेशको नामबारे किन फेरियो माओवादीको अडान ?

86

काठमाडौँ, २४ चैत । पहिला प्रदेश नम्बर १ भनिँदै आएको प्रदेशलाई कोशी नामाकरण गर्ने पक्षमा नेकपा (माओवाद केन्द्र)ले मतदान गरेको थियो । तर, अहिले उसले अकस्मात् आफ्नो अडान फेरेर पहिचानको पक्षमा उभिएपछि प्रदेशभित्र र बाहिर राजनीतिक तरंग उत्पन्न भएको छ ।

माओवादीको यो कदमसँगै सत्ता गठबन्धनमा समेत असर गर्न सक्ने आशंका उत्पन्न भएको छ । एक महिनाअघि प्रदेशसभको बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगै माओवादी केन्द्रले पनि कोशी प्रदेश नामाकरणको प्रस्तावलाई समर्थन गर्दै मतदान गरेको थियो ।

प्रदेश सरकारको नेतृत्व गर्दै आएको एमालेले ल्याएको कोशी प्रदेश नामाकरणको प्रस्ताव प्रदेशसभाको दुईतिहाइ बहुमतले पारित भएको थियो ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले ‘किरात खम्बवान सगरमाथा प्रदेश’ प्रस्ताव गरेका थिए ।

सत्ता गठबन्धनमा कस्तो असर पर्ला ?
माओवादी केन्द्रको नयाँ निर्णयले तत्काल संघीय सत्तँ गठबन्धनमा कम असर गरे पनि कोशी प्रदेशमा भने त्यसको असर पर्न सक्ने आंकलन गर्न थालिएको छ । कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र अन्य साना दलहरूले गठबन्धन गरी एमाले नेतृत्वको प्रदेश सरकारलाई विस्थापित गराउने प्रयास भइरहँदा माओवादीसँग कांग्रेस ढुक्क हुन सकेको छैन ।

कोशी प्रदेशमा अहिले एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा गठबन्धनको सरकार छ ।

कांग्रेस कोशी प्रदेशका सभापति एवम् प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले माओवादी नेताहरूको पछिल्लो निर्णयले आशंका उत्पन्न गराएको बताए । “कोशी प्रदेश नामाकरण प्रस्ताव पारित गर्दा समर्थन जनाउने माओवादी केन्द्रका नेताहरूले आफ्नो राजनीतिक स्वार्थ सुरक्षित गर्न र पहिचान पक्षधरकै पक्षमा छौँ भनेर देखाउन त्यस्ता अभिव्यक्ति दिएको हुनुपर्छ,” उनले भने ।

अहिले कोशी प्रदेशमा सरकारको नेतृत्व गरेको एमाले माओवादीको फेरिएको अडानबाट चिढिएको सुनिन्छ । उक्त दलका कोशी प्रदेशसभाका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संविधानसम्मत रूपमा दुई तिहाइ बहुमतले पारित गरेको कोशी प्रदेशको पुनः नामाकरण गर्ने विषयमा तत्काल छलफल गर्न एमाले तयार नरहेको बताए ।

माओवादी केन्द्रका नेताहरू चाहिँ पहिचानको पक्षमा बोल्दा गठबन्धनमा खासै समस्या नहुने तर्क गर्छन् । माओवादी केन्द्रका नेता मुक्साहाङ मेन्याम्बोले पार्टीले पहिलादेखि उठाउँदै आएको बहुपहिचानको मुद्दालाई कायम राख्दा गठबन्धनमा कुनै फाटो नआउने बताए ।

माओवादीभित्र ‘असन्तुष्टि’
बहुपहिचाको पक्षमा आफ्नो मत व्यक्त गर्दै आएको माओवादी केन्द्रका सांसदहरूले पहिचानको मुद्दा छोडेर आफूखुसी कोशीको पक्षमा समर्थन गरेको भन्दै पछिल्ला दिनमा पार्टीभित्र असन्तुष्टि देखिएको थियो ।

बुधबार बसेको पार्टी केन्द्रीय पदाधिकारीक बैठकमा पनि कोशी प्रदेश नामाकरणलाई समर्थन गरेर आफ्ना सांसदहरूले गल्ती गरेको भन्दै त्यसबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठेको बताइएको छ ।

बिहीबार नै माओवादी केन्द्रका कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेताहरूले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कोशी प्रदेश नामाकरणमा पुनःविचार गर्ने वातावरण मिलाउन आग्रह गरेको बताइएको छ ।

फेरिएला त कोशी प्रदेशको नाम ?
प्रचण्डसँगको छलफलमा सहभागी माओवादी केन्द्रका मुक्साहाङ मेन्याम्बोले पार्टीको नीति र एजेन्डाविपरीत प्रदेशको नामाकरणमा भएको गल्ती सच्याउन आफ्नो तर्फबाट तत्काल राजनीतिक संवाद थाल्ने प्रतिबद्धता जनाएको बताए ।

प्रचण्डको भनाइ उल्लेख गर्दै मेन्याम्बोले भने, “पार्टी अध्यक्ष प्रचण्ड पनि बहुपहिचानकै पक्षमा हुनुहुन्छ । कोशी नामाकरण माओवादी केन्द्रका सांसदहरूबाट गम्भीर गल्ती भएको र त्यसलाई पुनर्विचार गर्न जरूरी छ भन्नुभएको छ ।” उनले पहिचानको पक्षमा भएको आन्दोलनका क्रममा मृत्यु भएको पदम लिम्बूलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए ।

प्रदेशको नाम कोशी प्रदेश पारित भएपछि पहिचान पक्षधर विभिन्न संघसंस्थाहरूले सडक आन्दोलन गर्दै आएका छन् । आन्दोलनकै क्रममा चैत ५ गते विराटनगरमा भएको झडपमा घाइते भएका लिम्बूको उपचारको क्रममा मृत्यु भएको थियो ।

त्यसपछि सरकारले उक्त घटनाको छानबिन गर्न र आन्दोलनरत पक्षसँग वार्ता गर्न एउटा समिति गठन गरेको थियो । आन्दोलनरत पक्ष सहमत नहुँदा मृतक लिम्बूको शव परीक्षण र अन्तिम संस्कार हुन सकेको छैन ।

पहिचानको पक्षमा उभिने माओवादी केन्द्रको पछिल्लो निर्णयले पहिचानको आन्दोलन गरिरहेका विभिन्न संघ, संगठन र समूहलाई केही बल पुगेको तर पुनः नामाकरण मुद्दाले प्रदेशको राजनीति अस्थिर र अशान्त हुन सक्ने चिन्ता पनि त्यत्तिकै बढेको कतिपय विश्लेषकहरूले बताएका छन् । बीबीसीबाट

Share This:
सम्बन्धित खबर
Loading...