‘कोसी’ प्रदेशमा चक्का जामसहितका थप आन्दोलनका कार्यक्रम घोषणा

124

विराटनगर, १० चैत । आफ्ना नेता पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिको आज बसेको आपतकालीन बैठकले आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरूले प्रदेशको नाम कोसी खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरूञ्जेल र आन्दोलनकारी योद्धा पदम लिम्बूलाई राज्यले सहिद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म मृतकको शव जिम्मा नलिने अडान पनि राखेका छन् ।

यस्तै, बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट आजै बेलुकीसम्म नगद १ लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री, राजनीतिक दललाई ध्यानाकर्षण पत्र दिने निर्णय पनि बैठकले गरेको छ । बैठकले लिम्बूको तस्बिर आजदेखि सहिदको रूपमा हरेक कार्यक्रममा सम्मानार्थ बोक्ने निर्णय पनि गरेको छ ।

बैठकले आज साँझ ५ बजेदेखि ६ बजेसम्म प्रदेशका सबै जिल्ला र काठमाडौँमा विरोधसभा गर्ने, चैत ११ गते दिउँसो १ बजेदेखि २ बजेसम्म प्रदेशको १४ वटै जिल्लामा चक्काजाम गर्ने निर्णय पनि गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...