पृथ्वी शाहविरूद्ध ४ वटा मुद्दा दायर गर्न सुझाव

139

काठमाडौँ, १७ फागुन । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पृथ्वीबहादुर शाह र उनका सहयोगीविरूद्ध ठगीसँगै लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराध गरेको मुद्दा अघि बढाउने भएको छ ।

सिआइबीले आज पत्रकार सम्मेलन गरी आरोपित शाह र उनका सहयोगीहरूमाथिको अनुसन्धान सकिएको जानकारी दियो । अछाम घर भएका ३५ वर्षीय शाहसहित ७ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पुस २२ मा पक्राउ गरेको थियो ।

सिआइबीले शाहलाई कम्तिमा साढे ११ वर्ष थुनामा राख्न मागदाबी लिनुपर्ने प्रतिबेदन बुझाएको छ ।

शाहको समूहमा रहेका व्यक्तिहरूले संगठित रूपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनीको स्थापना गरी विदेशी नागरिकहरूलाई एन्टी भाइरस अपडेट, अमाजोनको बिल भुक्तानी जस्ता निहुँमा इमेलमार्फत् सम्पर्क स्थापित गरी ठगी गर्ने गरेको अनुसन्धानबाट भेटिएको थियो ।

पत्रकार सम्मेलनमा जानकारी दिइएअनुसार त्यस समूहले पीडितलाई फोन सम्पर्क गरी नियमित गतिविधिको निगरानी गर्ने र अन्तर्राष्ट्रिय पद्धति भएकाले ‘रिमोट एक्सेस’ दिनुपर्छ भनी पीडितलाई विश्वासमा पारेर डिभाइसमा नक्कली बैंक स्टेटमेन्ट पठाइ रकम जम्मा भएको देखाउने र उक्त रकम फिर्ता गर्न लगाइ ठगी गर्ने गरेको थियो ।

त्यस समूहले विशेष गरी क्यानसर पीडित तथा ज्येष्ठ नागरिकहरूलाई लक्ष्य बनाएको थियो ।

पृथ्वीबहादुर शाह सम्बद्ध रहेको कम्पनी तथा व्यक्तिहरूको बैंक खाताहरूमा विदेशी नागरिकहरूलाई ठगी गरी ‘स्विफ्ट’मार्फत् जम्मा गर्न लगाएको विदेशी मुद्राको रूपान्तरित नेपाली रूपैयाँ ३८ करोड ८६ लाख ६२ हजारमध्येबाट निज शाहले जग्गा खरिद, घर निर्माण, सेयर तथा सुन खरिद गर्नका साथै कम्पनी दर्ता तथा बिमालगायतका क्षेत्रहरूमा लगानी गर्ने गरेको प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले जानकारी दिए ।

ठगी र संगठित अपराधका आरोपित पृथ्वीबहादुर शाह र विजयविक्रम शाहसमेत ७ जनालाई पक्राउ गरिसकिएको छ । अन्य १३ जना भने फरार छन् । अनुसन्धानका क्रममा उनीहरूबाट पीडित भएकाहरूको संख्या ५६ जना रहेको भेटिएको थियो भने उनीहरूविरूद्ध २४ वटा जाहेरी वा सूचना प्राप्त भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...