काठमाडौँ, १३ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव संगालेको योग्य उम्मेदवार भएको बताएका छन् । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दिएका हुन् ।
नेम्वाङको उम्मेदवारी दर्तापछि संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सफल राजनीतिज्ञ भएको बताए ।
अध्यक्ष ओलीले भने, “नेम्वाङलाई राष्ट्रपतिको पदको निर्वाचनका लागि उम्मेदवारका रुपमा उठाएका छौँ । हामीले दलीय स्वार्थ हैन राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको जित र जनताको हितका लागि तथा संविधानको सफल कार्यान्वयन, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवर्द्धनका लागि उम्मेदवारी उठाएका हौँ ।”
उनले आफ्नो उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने विश्वास व्यक्त गर्दै हरेक मतदाताले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । उनले भने, “हाम्रो उम्मेदवार, हामीले उठाएको उम्मेदवार दाउपेजको हैन । आफ्नो प्रतिबद्धता र वचनबद्धताबाट आफूले सार्वजनिक गरेका विषयबाट कोही पनि पछि हट्ने अवस्था हुन्न भन्ने हाम्रो विश्वास छ ।”