काठमाडौँ, १ फागुन । आफ्नै पार्टी संलग्न सरकारले ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिँदा नेकपा (एमाले)का नेताहरूले भने विरोध जनाइरहेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जनयुद्ध दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
तर, यसप्रति सत्ता साझेदार दल एमालेका नेताहरू भने असन्तुष्ट देखिएका छन् । यसैक्रममा एमालेका महासचिव शंकर पोखरेलले पनि जनयुद्ध दिवसमा बिदा दिनुलाई अनावश्यक ठानेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, “०४६ पछिका सबैखाले जनसंघर्षको उच्चतम् उपलिब्ध हो– गणतन्त्रको स्थापना । गणतन्त्र दिवसले ती सबैको यथोचित् सम्मान भएको थिएन र ?”
यस्तै, एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पनि सरकारले जनयुद्ध दिवसको बिदा दिएर समाजमा विभाजन ल्याउन खोजेको आरोप लगाएका छन् ।