सांसद अरूण चौधरीको मुद्दामा उच्च अदालतको कारण देखाउ आदेश

28

काठमाडौँ, २३ माघ । नागरिक उन्मुक्ति पार्टीका सचेतक तथा प्रतिनिधिसभा सदस्य अरूणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले कारण देखाउ आदेश जारी गरेको छ ।

उच्च अदालतका दिपायल राजपुरका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार चौधरीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले कारण देखाउ आदेश मात्र जारी गरेको हो ।

चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए ।

उच्च अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश नदिएर जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीका नाममा कारण देखाउ आदेश मात्र जारी गरेको सूचना अधिकारी नेगीले बताए ।

उनका अनुसार चौधरीको मुद्दामा अन्तरिम आदेश जारी गर्नु नपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुने आदेश गरिएको छ । उक्त मुद्दाका वादी र प्रतिवादी दुवै पक्षसँगको छलफलपछि अन्तरिम आदेश सम्बन्धमा निर्णय गर्न सकिने छ । त्यसका लागि माघ २९ गते अर्को पेसी तोकिएको छ ।

१३ वर्षअघिको आगजानी मुद्दामा सांसद् चौधरीसहित ३ जनालाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १९ हजार ४२३ रूपैयाँ (दामाशाही) पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

सोही मुद्दामा प्रहरीले चौधरीलाई गत बिहीबार बाँकेबाट पक्राउ गरेको थियो । चौधरी हाल कैलाली कारागारमा थुनामा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...