हिरासतको पर्खाल भत्काएर ६ अभियुक्त फरार

27

धनुषा, १६ माघ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट ६ जना अभियुक्त फरार भएका छन् ।

आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएका हुन् । धनुषाका प्रहरी प्रवक्ता नायब उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीले थुनुवा कक्षको पर्खाल भत्काएर ६ अभियुक्त फरार भएको जानकारी दिए ।

इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका अभियुक्तमध्ये २ जनालाई हातहतियार, २ जनालाई लागुऔषध र २ जनालाई राष्ट्रसेवक बाधा मुद्दा लागेको प्रहरी डिएसपी क्षेत्रीले बताए ।

फरार हुनेहरूमा रोशन महतो र शंकर सिंह हातहतियार, विनोदकुमार शर्मा र अमित मण्डल लागुऔषध र रोशन यादव र हरिदीप सिंह राष्ट्र सेवक बाधा मुद्दाका अभियुक्त हुन् ।

फरार अभियुक्तहरूको खोजी भइरहेको र उनीहरू कसरी फरार हुन सफल भएको विषयमा पनि थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...